सुशासन र समृद्धिको योजनामा हामी एकै ठाउँमा छौँ : वर्षमान पुन
चितवन, ७ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले सुशासन र समृद्धिको योजनामा आफ्नो पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एकै ठाउँमा रहेको बताएका छन्।
रास्वपाको प्रथम महाधिवेशन समारोहलाई चितवनमा सम्बोधन गर्दै उनले रास्वपा र नेपाली कम्युनिस्ट पार्टीबीच राजनीतिक पृष्ठभूमि र काम गर्ने शैली फरक भए पनि सुशासन, समाज रूपान्तरण र प्रणाली सुधारका एजेन्डामा धेरै समानता रहेको बताए।
नेता पुनले नेपाली समाजको रूपान्तरणको यात्रा सहज नभएको उल्लेख गर्दै ठूलो बलिदान र सङ्घर्षको जगमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताए।
रास्वपाले अघि सारेको ‘थिति बसाउने’ एजेन्डाप्रति समर्थन जनाउँदै उनले भने, “हामी सुशासनको पक्षमा छौँ र विगतमा पनि सहकार्य गरेका छौँ। अन्य दलहरूको तुलनामा रास्वपा र नेकपीबीच धेरै विषयमा सहकार्य भएको छ।”
उनले थिति बसाउने नाममा चालिने हरेक कदम संविधान र कानुनी प्रक्रियाभित्रै रहनुपर्नेमा जोड दिए। नयाँ पुस्ताको राजनीतिले जनतामा आशा जगाएको भए पनि पद्धति र विधिभन्दा बाहिर जान नहुने उनको भनाइ थियो।
नेता पुनले राजनीतिमा जनमत र सङ्ख्या प्राप्त गर्दा विनम्रता आवश्यक हुने धारणा राखे। नयाँ पुस्ताको सक्रिय सहभागिताले नेपाली राजनीतिमा सकारात्मक उत्साह थपेको उनले बताए।
रास्वपाको महाधिवेशनबाट कस्तो नेतृत्व, विचार र कार्यदिशा तय हुन्छ भन्ने विषयलाई देशले चासोका साथ हेरिरहेको उल्लेख गर्दै उनले महाधिवेशनको सफलताको शुभकामना व्यक्त गरे।
प्रकाशित मिति: ७ असार २०८३, आइतबार












