सुर्खेतबाट एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
सुर्खेत, ८ असार । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् ।
सम्पत्ति शुद्धीकरण विभागले आज दिउँसो उहाँलाई सुर्खेतको वीरेन्द्रनगरबाट पक्राउ गरेको छ ।
एमाले पुनर्गठन सम्बन्धी सुझाव सङ्कलन कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका पौडेललाई कार्यक्रमस्थलबाटै नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको सुरक्षा स्रोतले बताएको छ ।
सुरक्षा स्रोतका अनुसार पौडेललाई हवाई वा स्थलमार्गमध्ये उपयुक्त विकल्पमार्फत काठमाडौँ लैजाने तयारी भइरहेको छ । उहाँमाथि सेयर कारोबार तथा सम्पत्तिको शङ्कास्पद स्रोत सम्बन्धी अनुसन्धान भइरहेको स्रोतले बताएको छ ।
यसअघि पनि पौडेलको नाम ललिता निवास जग्गा प्रकरणसँग जोडिएको थियो ।
पक्राउबारे सम्बन्धित निकायले औपचारिक विवरण सार्वजनिक गरेको छैन ।
प्रकाशित मिति: ८ असार २०८३, सोमबार












