आँप महोत्सवमा ५० लाख रुपैयाँको कारोबार



जनकपुर, ८ असार । धनुषाको वटेश्वर गाउँपालिका–१, चित्रपुरमा सम्पन्न तीनदिने आँप महोत्सवमा ५० लाख रुपैयाँको कारोबार भएको छ ।

वटेश्वर गाउँपालिका, राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना तथा चित्रपुर म्याङ्गो एग्रो टुरिज्म इनिसिएटिभ संस्थाको संयुक्त आयोजनामा सम्पन्न महोत्सवमा ५० लाख रुपैयाँको कारोबार भएको आयोजकमध्येका एक दीपेन्द्र सिंहले बताए ।

महोत्सवमा फलको राजा मानिने रसिलो तथा गुलियो आँपका विभिन्न जात तथा आँपबाट बनेका परिकारका बिक्री कक्ष राखिएका थिए । चित्रपुरमा विगत केही वर्षदेखि नियमित रूपमा आँप महोत्सव आयोजना हुँदै आएको छ ।

मेलामा मालदह, मुम्बई, जर्दालु, दशहरी, गुलाबखास, आम्रपाली र आम्रमल्लिका जातका आँपको कारोबार बढी भएको स्थानीय व्यापारीहरूले बताए ।

आँप प्रतिकिलो ३० देखि ६० रुपैयाँसम्ममा बिक्री भएको थियो । मेलामा पाकेको आँप, काँचो आँप तथा आँपबाट बनेका विभिन्न परिकार बिक्री गरिएका थिए । आँपका अचारका स्टलसमेत राखिएका थिए ।

स्थानीय संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो ।

प्रकाशित मिति: ८ असार २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्