रास्वपाको बन्दसत्र मङ्गलबार बिहानका लागि सर्‍यो



चितवन, ८ असार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र मङ्गलबार बिहानका लागि सारिएको छ ।

रास्वपाले बन्दसत्र अब मङ्गलबार बिहान ७ बजेपछि सुरु हुने जनाएको छ ।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले महाधिवेशन प्रतिनिधिहरूविरुद्ध परेका उजुरीमाथि छानबिन गर्न थप समय आवश्यक परेकाले आजको बन्दसत्र स्थगित गरिएको बताएका छन् । बन्दसत्र उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा हुने जनाइएको छ ।

उहाँका अनुसार बन्दसत्रको सुरुमा अनुशासन आयोगका रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नेछन् । उक्त प्रतिवेदनमाथि छलफल गरिनेछ ।

त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नेछिन् । आर्थिक प्रतिवेदनमाथि पनि छलफल हुने कार्यसूची रहेको छ ।

कोषाध्यक्षको प्रतिवेदनपछि महामन्त्री बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन् । सो प्रतिवेदनमाथि पनि छलफल गरिनेछ ।

त्यसपछि सहमहामन्त्रीले पार्टी विधानमाथि छलफल गराउने र अनुमोदन प्रक्रिया अघि बढाइनेछ ।

विधान अनुमोदनपछि पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । उक्त प्रतिवेदनमाथि छलफल तथा अनुमोदन गरिने कार्यक्रम रहेको छ ।

बन्दसत्रको अन्त्यमा सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गर्ने र आयोजक समितिले आफ्नो सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्ने कार्यतालिका रहेको छ ।

प्रकाशित मिति: ८ असार २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्