मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
बारा, ८ असार । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–९ छातापिपरामा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
वीरगन्जतर्फ गइरहेको बा ६८ प ७५९१ नम्बरको मोटरसाइकलले सडक पार गरिरहेका एक व्यक्तिलाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना छातापिपरा चोक क्षेत्रमा भएको थियो ।
ठक्कर दिएपछि मोटरसाइकल अनियन्त्रित हुँदा मोटरसाइकलमा सवार दुई युवक तथा एक पैदलयात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैया स्थायी घर भई हाल काठमाडौँमा बसोबास गर्दै आएका २० वर्षीय सभ्य अधिकारी तथा काठमाडौँको टोखा नगरपालिकाका २० वर्षीय डिजेन जोशी रहेका छन् ।
मृत्यु भएका पैदलयात्रीको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति: ८ असार २०८३, सोमबार












