महामन्त्री निर्वाचनको नतिजा स्वीकार्दै मनीष झाले दिए विपिन आचार्यलाई बधाई



काठमाडौँ, १२ असार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत महामन्त्री पदको निर्वाचनमा पराजित भएका मनीष झाले निर्वाचनको नतिजा सहर्ष स्वीकार गर्दै विजयी उम्मेदवार विपिन आचार्यलाई बधाई दिएका छन्।

चितवनमा जारी महाधिवेशनमा भएको निर्वाचनको परिणाम सार्वजनिक भएपछि झाले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै लोकतान्त्रिक प्रक्रियाको सम्मान गर्दै नतिजा स्वीकार गरेको बताएका छन्।

झाले पार्टीभित्र गुटबन्दी र ‘टिके प्रथा’को अभ्यास नहोस् भन्ने उद्देश्यले आफूले उम्मेदवारी दिएको उल्लेख गर्दै नेतृत्वले निर्वाचन प्रक्रियालाई अघि बढाएकोमा आभार व्यक्त गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, “महाधिवेशनमा पदाधिकारी चयनका लागि भएको निर्वाचनमा म पराजित भएको छु र यो परिणामलाई हार्दिकताका साथ स्वीकार गर्दछु। मेरो मित्र विपिन आचार्यलाई विजयको हार्दिक बधाई छ। उहाँलाई मेरो अनुभव र क्षमताले सकेसम्म सहयोग गर्नेछु।”

झाले आजदेखि आफू पार्टीको केन्द्रीय सदस्य र प्रतिनिधिसभा सदस्यको भूमिकामा मात्रै सक्रिय रहने घोषणा गरेका छन्।

नवनिर्वाचित महामन्त्री विपिन आचार्यले निर्वाचनपछि संक्षिप्त प्रतिक्रिया दिँदै महाधिवेशनपछि पार्टीलाई अझ सुदृढ, एकताबद्ध र प्रभावकारी रूपमा अघि बढाउनु अहिलेको मुख्य प्राथमिकता रहेको बताएका छन्।

प्रकाशित मिति: १२ असार २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्