रास्वपाको उपसभापतिमा गौतम, महामन्त्रीमा आचार्य निर्वाचित
काठमाडौँ, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत महिला उपसभापतिमा सोविता गौतम निर्वाचित भइन्।
चितवनमा जारी महाधिवेशनमा भएको निर्वाचनमा गौतमले ७८९ मत प्राप्त गरी विजयी भइन्। उनका प्रतिस्पर्धी डा. तोसिमा कार्कीले ५७२ मत प्राप्त गरिन्।
त्यस्तै, पार्टीको महामन्त्रीमा दाङका विपिन आचार्य निर्वाचित भए। उनी यसअघि रास्वपाका सहमहामन्त्री थिए।
निर्वाचित भएपछि आचार्यले विधिसम्मत ढङ्गले नागरिकप्रति उत्तरदायी भएर भूमिका निर्वाह गर्ने र जनताले राखेका अपेक्षाअनुसार जिम्मेवारी पूरा गर्ने बताए।
पाँच पदाधिकारी चयनका लागि भएको निर्वाचनमा एक हजार २९० महाधिवेशन प्रतिनिधिले मतदान गरेको रास्वपाको केन्द्रीय निर्वाचन आयोगका सदस्य गोकुल सापकोटाले जानकारी दिए।
रास्वपाको विधानअनुसार पहिलो चरणमा केन्द्रीय सदस्य र दोस्रो चरणमा पदाधिकारीको निर्वाचन हुने व्यवस्था छ। दुवै चरणको निर्वाचनमा सबै महाधिवेशन प्रतिनिधि मतदाता रहने व्यवस्था रहेको छ।
चितवनमा जारी महाधिवेशनमा रास्वपाका तीन हजार ९५९ महाधिवेशन प्रतिनिधि सहभागी छन्।
प्रकाशित मिति: १२ असार २०८३, शुक्रबार












