युरोपमा उष्ण लहर जारी, १९ करोडभन्दा बढी मानिस उच्च तापक्रमबाट प्रभावित हुने अनुमान



पेरिस, १३ असार । युरोपका विभिन्न भागमा शनिबार कम्तीमा १९ करोड ३० लाख मानिसले ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रमको सामना गर्नुपर्ने अनुमान गरिएको छ।

जर्मनीमा मात्रै करिब सात करोड ५० लाख मानिस उच्च तापक्रमबाट प्रभावित हुने अनुमान गरिएको छ।

एएफपीले प्राप्त गरेको तथ्याङ्कको विश्लेषणअनुसार उष्ण लहर पूर्वतर्फ सर्दै गएकाले शुक्रबारको तुलनामा उच्च तापक्रमबाट प्रभावित हुने जनसङ्ख्या बढेको छ।

टर्कीबाहेकका युरोपेली मुलुकमा शनिबार ४० करोड ४० लाखभन्दा बढी मानिसले ३० डिग्री सेल्सियसभन्दा बढी अधिकतम तापक्रमको सामना गर्ने अनुमान गरिएको छ। यो सङ्ख्या शुक्रबारको तुलनामा केही कम हो।

यो विश्लेषण जर्मन मौसम विज्ञान सेवाको पूर्वानुमान र संयुक्त अनुसन्धान केन्द्र (Joint Research Centre) को सन् २०२५ को जनसङ्ख्या प्रक्षेपणका आधारमा गरिएको हो। एएफपीका अनुसार उक्त तथ्याङ्क अस्ट्रियाली गैरसरकारी संस्था ‘क्लिमाड्यासबोर्ड’ को विश्लेषणसँग पनि मिल्दोजुल्दो रहेको छ।

प्रकाशित मिति: १३ असार २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्