भेनेजुएलामा भूकम्पको मृत्यु संख्या ९२० पुग्यो, ५० हजारभन्दा बढी अझै बेपत्ता



भेनेजुएला, १३ असार । भेनेजुएलामा बुधबार एक मिनेटको अन्तरमा आएका दुई शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या शुक्रबारसम्म ९२० पुगेको आधिकारिक पुष्टि भएको छ। हजारौँ मानिस अझै बेपत्ता रहेकाले मृतकको संख्या थप बढ्न सक्ने अनुमान गरिएको छ।

अन्तर्राष्ट्रिय उद्धार टोलीहरू प्रभावित क्षेत्रमा पुगेर जीवित व्यक्तिको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाइरहेका छन्।

संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता प्रमुख टम फ्लेचरले एएफपीसँग कुरा गर्दै भूकम्पपछि ५० हजारभन्दा बढी मानिस बेपत्ता रहेको जानकारी दिए। उनका अनुसार ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्पले भेनेजुएलाको उत्तरी क्षेत्रमा व्यापक क्षति पुर्‍याएका छन् र हजारौँ भवन ध्वस्त भएका छन्।

राजधानी काराकास नजिकको तटीय क्षेत्र ला ग्वाइरा सबैभन्दा बढी प्रभावित भएको छ। चारवटा अग्ला भवन र सयौँ अपार्टमेन्ट रहेको एक आवासीय परिसरका अधिकांश भवन पूर्ण रूपमा ध्वस्त भएका छन्।

उद्धार टोली प्रमुख नाडियोमार पोलान्कोले धेरै भवन पूर्ण रूपमा भत्किएकाले जीवित व्यक्तिलाई उद्धार गर्ने सम्भावना अत्यन्त न्यून रहेको बताए। उनले अब उद्धार टोलीको मुख्य ध्यान भग्नावशेषबाट शव निकाल्ने कार्यमा केन्द्रित भएको उल्लेख गरे।

प्रभावित अन्य क्षेत्रमा भने परिवारका सदस्य, छिमेकी र स्वयंसेवकहरू आफ्नै प्रयासमा भग्नावशेष हटाएर बाँचेकाको खोजी गरिरहेका छन्। उनीहरूले पर्याप्त भारी उपकरण र सरकारी सहयोग नपाएको गुनासो गरेका छन्।

भूकम्पमा पाँच महिनाका छोरा गाएल हराएका ४० वर्षीया मार्जोस्ली सालाजारले आफू अझै पनि छोराको खोजीमा रहेको बताइन्। उनकी १६ वर्षीया छोरीको शव फेला परिसकेको छ भने छोरा र भतिजी अझै बेपत्ता छन्।

उनले भग्नावशेष हटाउन आवश्यक मेसिनरी र सरकारी सहयोग नपाएको गुनासो गर्दै प्रभावित क्षेत्रमा कुनै सरकारी अधिकारी नदेखिएको बताइन्।

उता, काराकासका बासिन्दाले अन्तरिम नेतृ डेल्सी रोड्रिगेज नेतृत्वको सरकारले उद्धार तथा राहतमा पर्याप्त सक्रियता नदेखाएको आरोप लगाएका छन्। राजधानीको एक आवासीय क्षेत्रमा भग्नावशेषमुनि आफन्त फसेका परिवारजनले सरकारविरुद्ध नाराबाजी गर्दै उद्धार कार्य प्रभावकारी नभएको बताएका छन्।

यसैबीच, आन्तरिक मन्त्री डियोस्डाडो काबेल्लोले शुक्रबार राति ८ बजेदेखि सबैभन्दा बढी प्रभावित क्षेत्रमा सर्वसाधारणको प्रवेश निषेध गरिएको घोषणा गरेका छन्। सरकारले उद्धार कार्यलाई व्यवस्थित बनाउन उक्त निर्णय गरिएको जनाएको छ।

प्रकाशित मिति: १३ असार २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्