पर्यटन गन्तव्य कार्यक्रमको रकम हिनामिना गरेको आरोपमा नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौँ, १५ असार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान कार्यक्रमअन्तर्गत मन्दिर निर्माणका लागि विनियोजन गरिएको रकम हिनामिना गरेको आरोपमा बझाङको दुर्गाथली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार आर्थिक वर्ष २०७५/७६ मा छविसपाथीभेरा गाउँपालिका–६ स्थित बाँठपाली देवता मन्दिर निर्माणका लागि ४५ लाख रुपैयाँ विनियोजन गरिएको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त बजेटको निकासा, खर्च, लेखा व्यवस्थापन, लेखापरीक्षण तथा बेरुजु फर्छ्यौटको जिम्मेवारी दुर्गाथली गाउँपालिकालाई दिइएको थियो।

अनुसन्धानका क्रममा स्वीकृत लागत अनुमान ५६ लाख सात हजार ८९७ रुपैयाँमध्ये उपभोक्ता सहभागिता ११ लाख सात हजार ८९७ रुपैयाँ र कन्टिन्जेन्सी शीर्षकको रकमसमेत समावेश रहेको पाइएको आयोगले जनाएको छ।

निर्माण भएकोभन्दा बढी काम भएको देखाई अस्वाभाविक दर कायम गरिएको, सम्झौताअनुसारको जनसहभागिता रकम कट्टा गरिएको तथा नक्कली बिल–भरपाईका आधारमा २२ लाख एक हजार ६६५ रुपैयाँ भुक्तानी गरिएको आयोगले जनाएको छ।

आयोगले दुर्गाथली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मकरबहादुर मण्डेल, लेखापाल प्रेमप्रसाद पौडेल, छविसपाथीभेरा गाउँपालिकाका इञ्जिनियर हिक्मत रावल र सबइञ्जिनियर बमबहादुर बोहराविरुद्ध २२ लाख एक हजार ६६५ रुपैयाँ बिगो दाबी गरेको छ।

त्यस्तै छविसपाथीभेरा गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष राधिकाकुमारी रतला, वडा नं. ६ का तत्कालीन वडाध्यक्ष मोहनलाल विक तथा बाँठपाली देवता मन्दिर निर्माण समितिका अध्यक्ष कृष्णबहादुर बुढा, सचिव जयबहादुर बुढा र कोषाध्यक्ष मधुलीदेवी बुढाविरुद्ध पनि सोही बराबरको बिगो, कैद तथा जरिवानाको मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

प्रकाशित मिति: १५ असार २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्