नेपाल बैंकका ग्राहकलाई ॐ समाज डेन्टल हस्पिटलमा उपचारमा विशेष छुट
काठमाडौँ, १७ असार । नेपाल बैंक लिमिटेड र ॐ समाज डेन्टल हस्पिटल प्रालिबीच बैंकका ग्राहक तथा कर्मचारीलाई दन्त उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ।
असार ८ गते सम्पन्न सम्झौताअनुसार नेपाल बैंकमा खाता रहेका ग्राहक र बैंकका कर्मचारीले काठमाडौंका चाबहिल, नैकाप, वनस्थली, सातदोबाटो तथा महोत्तरीको बर्दिवासस्थित ॐ समाज डेन्टल हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवामा छुट पाउनेछन्।
सम्झौताअनुसार बिरामी दर्ता तथा प्रारम्भिक स्वास्थ्य परीक्षण (चेकअप) शुल्कमा शतप्रतिशत छुट दिइनेछ भने अस्पतालका अन्य सेवामा १५ देखि २५ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ।
सम्झौतापत्रमा नेपाल बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्ले र ॐ समाज डेन्टल हस्पिटलका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत बिजेन्द्र लालले हस्ताक्षर गरे।
बैंकका अनुसार यस सम्झौताबाट ग्राहक तथा कर्मचारीले दन्त तथा मुखसम्बन्धी विशेषज्ञ उपचार सेवा सहुलियतपूर्ण शुल्कमा प्राप्त गर्न सक्नेछन्।
नेपाल बैंकले हाल देशभर २३१ शाखा, २४६ एटीएम र ५८ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।
प्रकाशित मिति: १७ असार २०८३, बुधबार












