मुर्माटपमा नेपाल टेलिकमको फोरजी सेवा विस्तार



काठमाडौँ, १७ असार । नेपाल टेलिकमले मुगु जिल्लाको प्रसिद्ध पर्यटकीय गन्तव्य मुर्माटपमा फोरजी सेवा सञ्चालनमा ल्याएको छ।

कम्पनीका अनुसार असार १५ गतेदेखि मुर्माटपमा फोरजी सेवा सुरु गरिएको हो। रारा राष्ट्रिय निकुञ्जभित्र रहेको मुर्माटप राराताल, हिमशृङ्खला तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका मनोरम दृश्य अवलोकनका लागि लोकप्रिय गन्तव्य मानिन्छ।

फोरजी सेवा विस्तारसँगै पर्यटक, स्थानीयवासी तथा पदयात्रीले उच्च गतिको मोबाइल इन्टरनेट सेवा सहज रूपमा प्रयोग गर्न सक्ने भएका छन्। यस सेवाले मुर्माटप क्षेत्रसँगै ट्रेकिङ मार्गमा पनि भरपर्दो सञ्चार सुविधा उपलब्ध गराउने कम्पनीले जनाएको छ। अब पर्यटकले यात्रा अनुभव, तस्बिर, भिडियो तथा प्रत्यक्ष प्रसारण (लाइभ अपडेट) सामाजिक सञ्जालमार्फत सहज रूपमा साझा गर्न सक्नेछन्।

नेपाल टेलिकमले यस सेवाबाट रारा क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेको छ। साथै स्थानीय होटल, होमस्टे तथा व्यवसायीले डिजिटल सेवाको उपयोग सहज रूपमा गर्न सक्ने भएकाले स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

कम्पनीका अनुसार फोरजी सेवाका लागि जडान गरिएको टावरले मुर्माटपमा मात्र नभई हुम्ला, बाजुरा लगायतका दुर्गम हिमाली क्षेत्रमा दूरसञ्चार सेवा विस्तारका लागि रिपिटर स्टेसनको रूपमा पनि काम गर्नेछ। यसबाट कर्णाली र सुदूरपश्चिम प्रदेशमा मोबाइल तथा डाटा सेवाको पहुँच र गुणस्तर थप सुदृढ हुने अपेक्षा गरिएको छ।

नेपाल टेलिकमले देशका सुगमदेखि दुर्गम क्षेत्रसम्म आधुनिक दूरसञ्चार सेवा विस्तार गर्ने अभियानलाई निरन्तरता दिँदै आएको जनाएको छ। कम्पनीले यसअघि २०७६ मङ्सिर १९ गतेदेखि राराताल क्षेत्रमा फोरजी सेवा सञ्चालनमा ल्याएको थियो।

प्रकाशित मिति: १७ असार २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्