चीन–उत्तर कोरिया सम्बन्ध थप सुदृढ बनाउन सी जिनपिङको प्रतिबद्धता



सियोल, २१ असार । चिनियाँ राष्ट्रपति सी जिनपिङले उत्तर कोरियाली नेता किम जोङ उनसँग मिलेर दुई देशबीचको सम्बन्धलाई दीर्घकालीन, स्वस्थ र स्थिर दिशामा अघि बढाउन चीन प्रतिबद्ध रहेको बताएका छन्।

उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) का अनुसार गत महिना सीको प्योङयाङ भ्रमणपछि दुई नेताबीच आदानप्रदान भएका सन्देशमा उनले चीन–उत्तर कोरिया सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन्।

जुलाई १ मा पठाइएको सन्देशमा राष्ट्रपति सीले चिनियाँ कम्युनिस्ट पार्टी स्थापना भएको १०५औँ वर्षगाँठका अवसरमा नेता किमले पठाएको शुभकामना सन्देशप्रति धन्यवाद व्यक्त गरेका छन्। उनले किमको सन्देशले उत्तर कोरियाली नेतृत्व, सत्तारूढ वर्कर्स पार्टी र उत्तर कोरियाली जनतामा चीनप्रतिको गहिरो मित्रता र सद्भाव झल्काएको बताएका छन्।

राष्ट्रपति सीले चिनियाँ कम्युनिस्ट पार्टी र कोरियन वर्कर्स पार्टी दुवै माक्र्सवादी विचारधारामा आधारित सत्तारूढ दल रहेको उल्लेख गर्दै दुई देशले राष्ट्रिय स्वतन्त्रता र समाजवादी लक्ष्यका लागि लामो समयदेखि सहकार्य गर्दै आएको बताएका छन्।

उनले दुई पक्षबीच भएका सहमतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने र द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउने बताएका छन्। साथै, हालैको प्योङयाङ भ्रमणका क्रममा आफूलाई प्रदान गरिएको आत्मीय आतिथ्यताप्रति पनि उनले किमलाई धन्यवाद दिएका छन्।

केसीएनएका अनुसार यो सन्देश किम जोङ उनले पठाएको पत्रको जवाफ हो। किमले आफ्नो पत्रमा दुई नेताबीच प्योङयाङमा भएको शिखर भेटलाई ‘ऐतिहासिक अवसर’को संज्ञा दिँदै बेइजिङसँगको सम्बन्धलाई निरन्तर सुदृढ बनाउने उत्तर कोरियाको अडान दोहोर्‍याएका थिए।

हाल उत्तर कोरियाले रुससँग सुरक्षा तथा सैन्य सहकार्य विस्तार गरिरहेको छ। प्योङयाङले युक्रेन युद्धमा सहयोगस्वरूप रुसलाई सैनिक र हतियार उपलब्ध गराएको आरोप लाग्दै आएको छ। यद्यपि, चीन भने उत्तर कोरियाको सबैभन्दा ठूलो आर्थिक साझेदारका रूपमा रहेको छ।

दक्षिण कोरियाको अर्थ तथा वित्त मन्त्रालयका अनुसार सन् २०२४ मा उत्तर कोरियाको कुल वैदेशिक व्यापारको करिब ९८ प्रतिशत हिस्सा चीनसँग भएको थियो।

प्रकाशित मिति: २१ असार २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्