विश्वकपको अन्तिम १६ मा पोर्चुगल–स्पेन महाभिडन्त, अमेरिकाको सामना बेल्जियमसँग



काठमाडौँ, असार २२ गते । फिफा विश्वकपको अन्तिम १६ अन्तर्गत मङ्गलबार बिहान युरोपका दुई बलिया टोली पोर्चुगल र स्पेनबीच रोमाञ्चक प्रतिस्पर्धा हुँदैछ। दुवै टोली क्वार्टरफाइनल यात्रा सुनिश्चित गर्ने लक्ष्यसहित मैदानमा उत्रँदैछन्।

पोर्चुगलका अनुभवी स्टार क्रिस्टियानो रोनाल्डो टोलीलाई अर्को चरणमा पुर्‍याउन निर्णायक भूमिका खेल्ने लक्ष्यमा छन्। ४१ वर्षीय रोनाल्डोले कतार विश्वकपमा लियोनल मेसीले देखाएको प्रभावशाली प्रदर्शन दोहोर्‍याउने अपेक्षा गरिएको छ। तर युरो २०२४ को विजेता स्पेनविरुद्धको चुनौती पोर्चुगलका लागि सहज नहुने विश्लेषकहरूको भनाइ छ।

स्पेन पछिल्ला केही समययता टोलीगत खेल, बलमा नियन्त्रण र उत्कृष्ट तालमेलका कारण थप सन्तुलित देखिएको छ। कप्तान अल्भारो मोराटाको स्थानमा अग्रपङ्क्ति सम्हालिरहेका मिकेल ओयार्जाबाल उत्कृष्ट लयमा छन्। उनले जारी प्रतियोगितामा चार गोल गरिसकेका छन् भने राष्ट्रिय टोलीका लागि खेलेका पछिल्ला १६ खेलमा १७ गोल गरेका छन्।

स्पेनको बल नियन्त्रण गर्ने शैलीलाई रोक्नु पोर्चुगलका लागि सबैभन्दा ठूलो चुनौती हुनेछ। यी दुई छिमेकी राष्ट्रबीच सन् १९२१ यता ४३ पटक प्रतिस्पर्धा भएको छ। तीमध्ये पोर्चुगलले सात खेल मात्र जितेको छ।

यो बहुप्रतीक्षित खेल नेपाली समयअनुसार मङ्गलबार बिहान १२ः४५ बजे सुरु हुनेछ।

यस्तै, अर्को अन्तिम १६ को खेलमा आयोजक संयुक्त राज्य अमेरिकाले बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ। खेल बिहान ५ः४५ बजे सुरु हुनेछ।

यसअघि अन्तिम ३२ को खेलमा बोस्निया–हर्जगोभिनाविरुद्ध रातो कार्ड पाएका अमेरिकाका स्टार फरवार्ड फ्लोरियान बालोगनको निलम्बन फिफाले फिर्ता लिएपछि उनी बेल्जियमविरुद्धको महत्त्वपूर्ण खेल खेल्न पाउने भएका छन्। जारी प्रतियोगितामा तीन गोल गरेका बालोगन अमेरिकाका सर्वाधिक गोलकर्ता हुन्।

प्रकाशित मिति: २२ असार २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्