कपिलवस्तुमा राइस मिलबाट अनुदानको रासायनिक मल बरामद
कपिलवस्तु, २३ असार । कपिलवस्तुको मायादेवी गाउँपालिका–८ बिजुवास्थित एक राइस मिलबाट लुकाइछिपाइ राखिएको अवस्थामा अनुदानको रासायनिक मल प्रहरीले बरामद गरेको छ।
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक गणेशप्रसाद जैसीको नेतृत्वमा खटिएको प्रहरी टोलीले राइस मिलमा छापा मारेर डीएपी र युरिया मल बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार बरामद गरिएको मलको अनुमानित मूल्य रु दुई लाख ४५ हजार ५०० रहेको छ।
प्रहरीले मुचुल्का गरी गणना गर्दा ४३ बोरा डीएपी र १३८ बोरा युरिया मल फेला परेको जनाएको छ।
बरामद गरिएको मल आवश्यक कानुनी प्रक्रिया पूरा गरी कृषि सामग्री कम्पनी लिमिटेड, तौलिहवालाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २३ असार २०८३, मंगलबार












