गोरखामा मतगणना सकियो, गृह जिल्लामै बाबुराम ‘शून्य’


 


गोरखा, जेठ ५

गोरखाका एघारवटै स्थानीय तहमा मतगणना सम्पन्न भएको छ । दुई नगरपालिका र सातवटा गाउँपालिका गरी नेपाली काँग्रेसले नौ स्थानीय तहमा जितेको छ भने दुई गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले जितेको छ । नेकपा (एमाले) र नयाँ शक्ति पार्टीले कुनै स्थानीय तहमा जित्न सकेनन् ।

गोरखा नगरपालिकामा काँग्रेस
गोरखा नगरपालिकामा ६ हजार ५६० मत ल्याएर नेकाका राजनराज पन्त नगरपालिका प्रमुख पदमा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का कृष्णबहादुर रानाले पाँच हजार ६० मत ल्याउनुभयो ।

उपप्रमुख पदमा नेकाकी बिनाकुमारी श्रेष्ठले ६ हजार २६० मत ल्याउनुभयो । निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)की सम्झना देवकोटाले चार हजार ७०५ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गोरखा नगरपालिकामा १४ वटा वडा रहेका छन् जसमध्ये १, २, ४, ५, ६, ८, ९ र १२ वडा नेकाले जितेको छ । यस्तै, ३, १० र १४ नं वडामा नेकपा (एमाले)ले जितेको हो भने नेकपा (माओवादी केन्द्र)ले ७, ११ र १३ वडामा जित हासिल गरेको छ ।

पालुङटारमा काँग्रेस

गोरखाको पालुङटार नगरपालिकाको प्रमुख पदमा नेकाका दीपकबाबु कँडेल विजयी हुनुभएको छ । चार हजार ६९८ मत ल्याएर कँडेल विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका विवश चिन्तनले चार हजार ४९१ मत प्राप्त गर्नुभएको हो ।

उपप्रमुख पदमा माओवादी केन्द्रकी पम्फा बसेल निर्वाचित हुनुभएको छ । बसेलले चार हजार ४९४ मत प्राप्त गर्नुभयो भने निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी चेतकुमारी श्रेष्ठले चार हजार १९६ मत ल्याउनुभएको छ । दशवटा वडा रहेको पालुङटारमा नयाँ शक्ति पार्टीले १, ४ र ५ वडामा विजय हासिल गरेको हो ।

यस्तै, २, ६, ८ र १० नं वडामा माओवादी केन्द्र विजयी भयो भने वडा नं ७ मा एमाले विजयी भएको छ । काँग्रेसले वडा नं ३ र ९ जितेको छ । पालुङटार पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्वसङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे र काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेको गृहनगर पनि हो ।

भीमसेनमा काँग्रेस

गोरखाको भीमसेन गाउँपालिका प्रमुख पदमा काँग्रेसका ईश्वर पाण्डे तीन हजार ९४३ मतका साथ विजयी हुनुभएको छ । उपप्रमुखमा काँग्रेसकी बिनु वाग्ले तीन हजार ९८३ मतका साथ विजयी हुनुभएको हो । काँग्रेसले माओवादी केन्द्रका लोकप्रसाद बञ्जरा र लीला श्रेष्ठलाई पराजित गर्नु भएको हो ।

आरुघाटमा काँग्रेस

आरुघाट गाउँपालिकाको प्रमुख पदमा काँग्रेसका पूर्णबहादुर दाहालले तीन हजार ६७६ मत ल्याएर विजयी हुनुभएको छ । उपप्रमुखमा काँग्रेसकै कल्पना नेपालीले तीन हजार ६०९ मत ल्याएर विजयी हुनु भयो भने काँग्रेसले प्रमुख र उपप्रमुखमा क्रमशः एमालेका बकबहादुर लामा र मिनु बरामलाई हराएको हो ।

चुमनुब्रीमा काँग्रेस

उत्तरी हिमाली क्षेत्रमा रहेको चुमनुब्री गाउँपालिकाको प्रमुख पदमा नेकाका धनबहादुर गुरुङ एक हजार २५३ मतका साथ विजयी हुनुभएको छ । उपप्रमुखमा माओवादी केन्द्रकी धनकुमारी गुरुङ एक हजार २८५ मतले विजयी हुनुभयो । काँग्रेसले माओवादीका लाक्पा डुण्डुप लामा र माओवादीले काँग्रेसकी छेवाङ लामालाई उपप्रमुखमा पछि पारेको हो ।

धार्चेमा काँग्रेस

धार्चे गाउँपालिकामा काँग्रेसका सन्तबहादुर गुरुङ (सन्तोष) एक हजार ७०९ मतका साथ विजयी हुनुभएको छ । उपप्रमुख पदमा काँग्रेसकी फूलमाया गुरुङ एक हजार ५९५ मतका साथ विजयी हुनुभयो । काँग्रेसले नयाँ शक्तिका लक्ष्मण गुरुङ र माओवादी केन्द्रकी आशा तमुलाई हराएको हो ।

अजिरकोटमा काँग्रेस

अजिरकोट गाउँपालिकामा काँग्रेसका फणिन्द्र धिताल तीन हजार ३३ मतका साथ विजयी हुनुभएको छ । उपप्रमुखका काँग्रेसकै चन्द्रमाया गुरुङ तीन हजार ३३ मतले विजयी हुनुभयो । माओवादी केन्द्रका दीपक देवकोटा र अनिता भुजेललाई काँग्रेसले प्रमुख र उपप्रमुखमा हराएको हो ।

सिरानचोकमा काँग्रेस

सिरानचोक गाउँपालिकामा काँग्रेसका राजु गुरुङले तीन हजार ४०२ मत ल्याएर विजयी हासिल गर्नुभएको छ । यस्तै, उपप्रमुखमा काँग्रेसकै रीता देवकोटाले तीन हजार ४११ मत ल्याउनुभयो । माओवादी केन्द्रका नवराज पुडासैनी र दीपा गुरुङलाई काँग्रेसले हराएको हो ।

गण्डकीमा काँग्रेस

गण्डकी गाउँपालिकामा काँग्रेसका होमबहादुर रानाले चार हजार १६४ मतका साथ विजय हासिल गर्नुभएको छ । काँग्रेसकी ललिता अधिकारीले चार हजार ९७ मतले उपप्रमुखमा विजय हासिल गर्नुभयो । प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रका दीपक तिमिल्सिना र पूर्णा थापालाई काँग्रेसले हराएको हो ।

सहिद लखनमा माओवादी

सहिद लखन गाउँपालिकामा माओवादी केन्द्रका रमेश थापाले तीन हजार ८०८ मत ल्याएर प्रमुख पदमा विजयी हुनुभएको छ । उपप्रमुख पदमा माओवादीकै इन्दिरा तिवारी तीन हजार ७९८ मतका साथ विजयी हुनुभयो । काँग्रेसका कृष्ण आले र शर्मिला श्रेष्ठलाई माओवादीले हराएको हो ।

सुलिकोटमा माओवादी

गोरखाको सुलिकोट गाउँपालिकामा माओवादी केन्द्रका विष्णु भट्ट चार हजार ६५९ मतका साथ प्रमुख पदमा विजयी हुनुभएको छ । उपप्रमुख पदमा माओवादी केन्द्रकै सनमाया गुरुङ चार हजार ५०१ मतले बिजयी हुनुभयो । काँग्रेसका इन्द्र गुरुङ र जनककुमारी कोइरालालाई माओवादीले हराएको हो ।

मतगणनाको अन्तिम परिणाम घोषणा भएपछि एघारवटै स्थानीय तहमा दलले विजय ¥याली निकालेका छन् । करिब २० वर्षपछि निर्वाचित जनप्रतिनिधि पाएको खुसियालीमा गोरखा नगरवासीले प्रमुख पन्त र उपप्रमुख श्रेष्ठलाई बाजागाजासहित नगर परिक्रमा गरेका थिए । निर्वाचन जितेकाहरु अधिकांश हालै जागिर छाडेर राजनीतिमा प्रवेश गरेकाहरु छन् । रासस

प्रकाशित मिति: ५ जेष्ठ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्