वाणगङ्गा नदीमा फसेका सात युवाको सकुशल उद्धार



कपिलवस्तु, २७ असार कपिलवस्तुको वाणगङ्गा नगरपालिका–८ बालपुर नजिक वाणगङ्गा नदीको बीच भागमा फसेका सात जना युवाको शनिबार दिउँसो सुरक्षाकर्मीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ।

नदीमा पौडी खेलिरहेका बेला एक्कासि पानीको बहाव बढेपछि उनीहरू बीच भागमा फसेका थिए। सूचना पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली घटनास्थल पुगेको थियो।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार करिब डेढ घण्टाको प्रयासपछि सबै युवाको सकुशल उद्धार गरिएको हो।

उद्धार गरिएकामध्ये वाणगङ्गा नगरपालिका–४ का सम्राट गिरी (१७), निर्वाचन नेपाली (१८), ज्ञानेन्द्र परियार (१७), कृष्ण तिवारी र मनीष थापा रहेका छन्। त्यसैगरी वाणगङ्गा–१ का विकल्प रेग्मी र वाणगङ्गा–८ का सुवास घिमिरेको पनि सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।

उद्धारका क्रममा सुरक्षाकर्मीले डोरी, रबर बोट तथा अन्य आवश्यक उद्धार सामग्री प्रयोग गरेका थिए। सम्भावित जोखिमलाई ध्यानमा राख्दै घटनास्थलमा क्रेनसमेत तयारी अवस्थामा राखिएको थियो।

अर्घाखाँची क्षेत्रमा भएको वर्षापछि वाणगङ्गा नदीमा एक्कासि पानीको बहाव बढेको प्रहरीले जनाएको छ। नदीमा पानीको सतह बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले नदी तथा खोलानालाको आसपास नजान र आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रकाशित मिति: २७ असार २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्