बझाङमा जिप दुर्घटना : तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते



बझाङ, २७ असार बझाङको केदारस्यूँ गाउँपालिकामा शनिबार जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना गम्भीर घाइते भएका छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार केदारस्यूँ गाउँपालिका–७ काँडाचौरबाट दुर्गाथली गाउँपालिकाको चुहावनतर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको हो।

दुर्घटनामा दुर्गाथली गाउँपालिका–६ का चक्रबहादुर महत, केदारस्यूँ गाउँपालिका–७ की बिमला महत धामी र दुर्गाथली गाउँपालिका–६ की केलादेवी महत (कुटुरी) को घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक टेकबहादुर जोराले बताए।

दुर्घटनामा सात जना गम्भीर घाइते भएका छन्। घाइतेहरूको उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर परिचालन गरिए पनि खराब मौसमका कारण घटनास्थलमा अवतरण गर्न नसकेको जिल्ला प्रशासन कार्यालय बझाङकी सूचना अधिकारी सत्याकुमारी जोशीले बताइन्।

हाल स्थानीयवासी र सुरक्षाकर्मी उद्धार तथा राहत कार्यमा खटिएका छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख सानुराम भट्टराईका अनुसार घटनास्थलमा सदरमुकाम चैनपुरबाट चार वटा एम्बुलेन्स परिचालन गरिएको छ। प्रारम्भिक जानकारीअनुसार जिपमा १५ जना सवार रहेका थिए। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: २७ असार २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्