निष्क्रिय खाता न्यूनीकरण गर्न राष्ट्र बैंकको निर्देशन



काठमाडौँ, २७ असार नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निष्क्रिय खाताको संख्या घटाउन कार्ययोजना बनाएर २०८३ पुस मसान्तभित्र कार्यान्वयन गर्न निर्देशन दिएको छ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका विकास बैंक र ‘ग’ वर्गका वित्त कम्पनी का लागि जारी एकीकृत निर्देशन, २०८२ संशोधन गर्दै निष्क्रिय खाता न्यूनीकरणका लागि आवश्यक व्यवस्था गरेको हो।

निर्देशनअनुसार कुनै खाता निष्क्रिय हुनुअघि सम्बन्धित बैंक तथा वित्तीय संस्थाले फोन, एसएमएस र इमेल लगायतका माध्यमबाट ग्राहकलाई नियमित रूपमा जानकारी गराउनुपर्नेछ।

त्यस्तै, निष्क्रिय भएका खातालाई पुनः सक्रिय गराउन कम्तीमा छ–छ महिनाको अन्तरालमा फोन, एसएमएस वा इमेलमार्फत ग्राहकलाई अनुरोध गर्नुपर्ने र त्यसको अभिलेखसमेत राख्नुपर्ने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकले ग्राहकलाई आफ्नो खाता देशभरका जुनसुकै शाखाबाट वा मोबाइल तथा वेब एप्लिकेसन मार्फत सहज रूपमा बन्द गर्न सकिने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ।

ग्राहकले शाखा वा डिजिटल माध्यमबाट खाता बन्द गर्न अनुरोध गरेमा खातामा रहेको रकम ग्राहकले उल्लेख गरेको अर्को बैंक तथा वित्तीय संस्थाको खातामा रकमान्तर गरी खाता बन्द गर्नुपर्ने व्यवस्था गरिएको छ।

त्यसैगरी, ग्राहक पहिचान गरी देशभरका जुनसुकै शाखाबाट निष्क्रिय खाता पुनः सक्रिय गर्न सकिने व्यवस्था गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ।

साथै, पुनः सञ्चालनमा आएका निष्क्रिय खातामा हुने अस्वाभाविक कारोबारको निगरानी गर्ने प्रणाली विकास गर्न पनि बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले निर्देशन दिएको छ।

प्रकाशित मिति: २७ असार २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्