देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जना पक्राउ
काठमाडौँ, २७ असार । नेपाल प्रहरीले देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित २८ जनालाई पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार नियमित गस्तीका क्रममा पक्राउ परेकाहरूको साथबाट खैरो हेरोइन, गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न मिल्ने नोर्फिन, डाइजेपाम, फेनारगन, ट्रामाडोल, स्पास्पेन र प्रेगाब्लिन लगायतका लागुऔषध बरामद गरिएको छ।
प्रहरीले उनीहरूलाई काठमाडौँ, पर्सा, दाङ, सङ्खुवासभा, कैलाली, उदयपुर, ललितपुर, सुनसरी, धनगढी र मकवानपुरबाट शुक्रबार र शनिबार पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका सबैमाथि सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २७ असार २०८३, शनिबार










