बाढीपीडित भेट्न पुगेका युवाको पक्राउप्रति गगन थापाको आपत्ति, निशर्त रिहाको माग
काठमाडौँ, २७ असार। नेपाली कांग्रेसका सभापति गगन थापाले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बाढीपीडितको अवस्था बुझ्न पुगेका युवामाथि भएको कुटपिट र पक्राउप्रति आपत्ति जनाउँदै पक्राउ परेकाहरूलाई तत्काल निशर्त रिहा गर्न सरकारसँग माग गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै थापाले बाढीपीडितको अवस्था बुझ्न र राज्यसँग जवाफ माग्न पुगेका माजिद अन्सारी, नहेन्द्र खड्का, सरिश्मा थापालगायत युवामाथि कुटपिट गरी नियन्त्रणमा लिनु अत्यन्तै चिन्ताजनक, लज्जास्पद र निन्दनीय भएको बताएका छन्।
लोकतन्त्रमा प्रश्न सोध्नु नागरिकको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै उनले त्यसको जवाफ गिरफ्तारी, लाठीचार्ज वा दमन हुन नसक्ने बताएका छन्।
सरकार बलियो र विधिको शासनप्रति प्रतिबद्ध तब मात्र हुने भन्दै थापाले फरक मत र आलोचना सुन्न सक्ने क्षमता आवश्यक रहेको बताएका छन्। आलोचनालाई दमनबाट होइन, संवाद र उत्तरदायित्वमार्फत सम्बोधन गर्नु राज्यको दायित्व भएको उनको भनाइ छ।
फरक मत र जनताका प्रश्न सुन्न नसक्नु बहादुरी नभई सत्ताको कमजोरी भएको उल्लेख गर्दै थापाले पक्राउ परेका सबै युवालाई अविलम्ब निशर्त रिहा गर्न सरकारसँग माग गरेका छन्।
प्रकाशित मिति: २७ असार २०८३, शनिबार










