मध्यपूर्व तनाव चर्किँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पुन: उकालो



एजेन्सी। मध्यपूर्वमा चर्किँदै गएको सैन्य तनावले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रूपमा बढेको छ।

इरानले खाडी क्षेत्रका विभिन्न मुलुकमा आक्रमण विस्तार गर्नुका साथै अमेरिकाले इरानमाथि थप सैन्य कारबाही गरेपछि विश्व ऊर्जा आपूर्तिमा अनिश्चितता बढ्दै गएको हो।

सोमबार ब्रेन्ट क्रुडको मूल्य ३.८८ प्रतिशतले वृद्धि भई प्रतिब्यारेल ७८.९६ अमेरिकी डलर पुगेको छ। त्यस्तै, वेस्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई) क्रुडको मूल्य ३.९४ प्रतिशतले बढेर प्रतिब्यारेल ७४.२२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

विश्लेषकहरूका अनुसार विश्वको प्रमुख तेल ढुवानी मार्ग मानिने स्ट्रेट अफ हर्मुजको सुरक्षाप्रति बढेको चिन्ताले तेल बजारमा प्रत्यक्ष असर परेको हो। इरानले खाडी क्षेत्रका अमेरिकी सैन्य स्वार्थलाई लक्षित गर्दै आक्रमण विस्तार गरेपछि उक्त जलमार्ग हुँदै हुने तेल आपूर्तिमा थप जोखिम उत्पन्न भएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुज व्यावसायिक जहाजका लागि खुला रहेको बताएका छन्। यद्यपि, इरानले यसअघि उक्त जलमार्गमा नियन्त्रण कडा पार्ने चेतावनी दिएको थियो। जहाज ट्र्याकिङ तथ्यांकअनुसार आइतबार स्ट्रेट अफ हर्मुज हुँदै केवल ६ वटा जहाज मात्रै आवतजावत गरेका थिए, जुन पछिल्ला पाँच सातामै सबैभन्दा कम संख्या हो।

यसअघि अमेरिका–इरानबीचको सम्भावित सहमतिले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा उल्लेख्य गिरावट ल्याएको थियो।

यसैबीच, अमेरिका–इरानबीचको अस्थायी सहमतिमाथि पनि बढ्दो सैन्य तनावले प्रश्न उठाएको छ।

होर्मुज जलडमरूमध्य आसपासको सुरक्षा अवस्था थप तनावपूर्ण बनेको छ। अमेरिका र इरानबीच भएको अन्तरिम सहमतिअनुसार विश्वको महत्वपूर्ण तेल तथा प्राकृतिक ग्यास आपूर्ति मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा जहाजहरूको नियमित आवतजावत पुनः सञ्चालन गर्ने सहमति भएको थियो ।

उक्त सहमतिअनुसार स्ट्रेट अफ हर्मुजलाई सुरक्षित रूपमा सञ्चालनमा राख्दै थप ६० दिन कूटनीतिक वार्ता अघि बढाउने लक्ष्य राखिएको थियो ।

तर उक्त क्षेत्रमा बढ्दो सैन्य गतिविधिले क्षेत्रीय सुरक्षा र अन्तर्राष्ट्रिय ऊर्जा बजारमा थप चिन्ता बढाएको छ।

अमेरिकी केन्द्रीय कमाण्ड सेन्टकम ले इरानका निगरानी प्रणाली, सञ्चार पूर्वाधार, हवाई प्रतिरक्षा प्रणाली, ड्रोन भण्डारण केन्द्र तथा सैन्य संरचनामाथि हवाई आक्रमण गरेको थियो। त्यसको प्रतिकारस्वरूप इरानले आइतबार मात्रै बहराइन, ओमान, कतार र कुवेतमा रहेका अमेरिकी सैन्य स्वार्थलाई लक्षित गर्दै मिसाइल र ड्रोन प्रहार गरेको दाबी गरेको थियो ।

ट्रम्पले इरानले सम्झौताको अन्तिम चरणमै एउटा जहाजमा ड्रोन आक्रमण गरेर परिस्थिति बिगारेकोले आरोप लगाएका छन् ।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले संयुक्त हवाई हमला इरानका तत्कालीन सर्वोच्च नेता खामेनी मारिएपछि दुवै देशहरुबीच युद्ध हुँदै आएको छ ।

प्रकाशित मिति: २९ असार २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्