कोदारीमा सडक भासियो, तातोपानी नाका पुनः ठप्प



काभ्रेपलाञ्चोक । अविरल वर्षापछि अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको कोदारीस्थित ‘इको’ क्षेत्रमा सडक भासिँदा नेपाल–चीन जोड्ने तातोपानी नाका सोमबारदेखि पुनः अवरुद्ध भएको छ।

इलाका प्रहरी कार्यालय कोदारीका अनुसार भोटेकोसी गाउँपालिका-२ स्थित कोदारी ‘इको’ क्षेत्रमा करिब दुई मिटर सडक भासिएपछि सवारी आवागमन पूर्ण रूपमा रोकिएको हो।

निरन्तर वर्षा र माथिबाट बगिरहेको लेदोका कारण सडक मर्मत तथा खुलाउने काम प्रभावित भएको छ।

सडक खुलाउन चरिकोट सडक डिभिजन कार्यालयले सडक भासिएको स्थानमा गिट्टी र माटो हाल्न पनि वर्षाले समस्या भएको प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध भएपछि चीनबाट भन्सार प्रक्रिया पूरा गर्न नेपालतर्फ आउँदै गरेका र नेपालबाट चिन तर्फ जाने मालवाहक कन्टेनर रोकिएका छन् ।

केही साना सवारीसाधन र मोटरसाइकललाई भने जोखिम मोलेर पार गराइएको छ।

उक्त क्षेत्रमा वर्षायाममा हरेक वर्षजस्तै गत वर्ष पनि सडक भासिने र पहिरो जाने समस्या देखिएको थियो।

प्रकाशित मिति: २९ असार २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्