सिमलतालमा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध
चितवन, २९ असार । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलताल क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।
निरन्तर वर्षाका कारण साँझ ७ः१५ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
संभावित जोखिमलाई मध्यनजर गर्दै सो सडकखण्डमा केही समयका लागि सवारीसाधनको आवागमन रोकिएको प्रहरीले जनाएको छ। पहिरो पन्छाउने र सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।
प्रहरीले सवारी चालक तथा यात्रुलाई सतर्कता अपनाउन आग्रह गरेको छ। साथै आवश्यक परे वैकल्पिक मार्ग प्रयोग गर्न पनि अनुरोध गरेको छ।
वर्षायाममा पहिरोको जोखिम बढेकाले नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रा गर्नेहरूले सडक अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।
प्रकाशित मिति: २९ असार २०८३, सोमबार










