प्रेस काउन्सिलमा श्रेष्ठ र दूरसञ्चार प्राधिकरणमा घिमिरे नियुक्त, नागरिक हित केन्द्रमा राखेर काम गर्न मन्त्रीको निर्देशन
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त भएका छन्।
नवनियुक्त अध्यक्षद्वयले सोमबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गरेका छन्। दूरसञ्चार प्राधिकरणका अध्यक्ष घिमिरेले सोही दिन पद तथा गोपनीयताको शपथसमेत लिएका छन्।
नियुक्तिपत्र हस्तान्तरण गर्दै मन्त्री डा. तिमिल्सिनाले प्रतिस्पर्धात्मक प्रक्रियामार्फत छनोट भएका दुवै अध्यक्षप्रति उच्च अपेक्षा रहेको बताए। सिफारिस समितिले न्यायपूर्ण, निष्पक्ष र परिणाममुखी ढङ्गले जिम्मेवारी निर्वाह गर्न सक्ने विश्वासका आधारमा उनीहरूलाई छनोट गरेको उनले बताए।
नियामक निकायहरूले आफ्नो भूमिका गम्भीरतापूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिँदै उनले सञ्चार क्षेत्रलाई थप जिम्मेवार, मर्यादित र प्रभावकारी बनाउन प्रेस काउन्सिलको महत्वपूर्ण भूमिका रहने बताए। सञ्चार क्षेत्रमा गलत सूचना (मिसइन्फरमेसन) र दुष्प्रचार (डिसइन्फरमेसन) प्रमुख चुनौतीका रूपमा रहेको उल्लेख गर्दै उनले त्यसको पहिचान गरी समाधानमुखी ढङ्गले अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।
पुराना कानुनलाई समयानुकूल परिमार्जन गर्ने काम भइरहेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले मिडिया काउन्सिल विधेयक र आमसञ्चार विधेयकको मस्यौदामाथि छलफल अगाडि बढिसकेको बताए। क्षमता अभाव भएका संस्थाले प्रभावकारी काम गर्न नसक्ने भएकाले प्रेस काउन्सिललाई थप जिम्मेवार, सक्षम र प्रभावकारी संस्थाका रूपमा विकास गर्नुपर्ने उनले बताए।
दुवै नियामक निकायको नेतृत्व चुनौतीपूर्ण समयमा सम्हालेको उल्लेख गर्दै उनले कानुन र विधिको सीमाभित्र रहेर नागरिकको हितलाई केन्द्रमा राखी काम गर्न निर्देशन दिए। दूरसञ्चार क्षेत्रका समस्या समाधानमा विशेष ध्यान दिन र कानुनी जिम्मेवारीअनुसार निष्पक्ष रूपमा काम गर्नुपर्ने उनले बताए।
नागरिकको स्वार्थ र सेवाको गुणस्तरलाई केन्द्रमा राखेर अधिकारको दुरुपयोग नगरी काम गर्नुपर्नेमा जोड दिँदै उनले अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन कार्ययोजना बनाएर अघि बढ्न सुझाव दिए। मन्त्रालयले आवश्यक नीतिगत तथा संस्थागत सहयोगका लागि उपयुक्त वातावरण बनाउन सधैं तयार रहेको उनले बताए।
प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष उमेश श्रेष्ठले सञ्चार माध्यमको स्वरूप परिवर्तन भइसके पनि प्रेस काउन्सिलसम्बन्धी कानुन पुरानो भइसकेको बताए। उनले उक्त कानुनलाई समयानुकूल परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे। पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्दै पत्रकारितामा स्वनियमन प्रणालीलाई थप सुदृढ बनाउने आफ्नो प्राथमिकता रहने उनले बताए।
नेपाल दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष अर्जुन घिमिरेले दूरसञ्चार क्षेत्रका विद्यमान कमी–कमजोरी हटाउँदै समस्या समाधानमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। कानुन, नियम र नीतिको परिधिभित्र रहेर दूरसञ्चार क्षेत्रको विकास, सेवा विस्तार तथा सुशासनका लागि काम गर्ने उनले बताए।
नागरिकमुखी, उत्तरदायी र प्रभावकारी दूरसञ्चार क्षेत्र निर्माणलाई आफ्नो प्रमुख प्राथमिकता बनाउने उल्लेख गर्दै घिमिरेले आवश्यक निर्णय लिन आफू दृढतापूर्वक अघि बढ्ने बताए।
प्रकाशित मिति: २९ असार २०८३, सोमबार










