संसद्मा सशक्त प्रतिपक्षको भूमिका खेल्ने आङ्देम्बेको प्रतिबद्धता
काठमाडौँ, २९ असार । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले देश र जनतालाई केन्द्रमा राखेर प्रतिनिधिसभामा सक्रिय, रचनात्मक र प्रभावकारी भूमिका निर्वाह गर्ने बताएका छन्।
सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा सोमबार संसदीय मामिला हेर्ने पत्रकारहरूसँगको छलफलमा उनले संसद्मा प्रतिपक्षको भूमिका सशक्त बनाउँदै सरकारलाई संसद् र जनताप्रति उत्तरदायी बनाउन आफूले भूमिका खेल्ने बताए।
प्रतिनिधिसभामा जनताका सरोकारका विषय इमान्दारीपूर्वक उठान गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै उनले प्रतिपक्षको भूमिका थप प्रभावकारी बनाउन निरन्तर लागिपर्ने बताए।
आङ्देम्बेले संसद् र संसदीय समिति दुवै लोकतान्त्रिक अभ्यासका महत्वपूर्ण अंग भएको उल्लेख गरे। संसदीय समितिहरूलाई अनिर्णयको बन्दी बन्न नदिन सबै प्रतिपक्षी दलसँग सहकार्य गरेर अघि बढ्ने उनले बताए।
संसदीय गतिविधिलाई परिणाममुखी बनाउने र जनताका मुद्दालाई प्राथमिकताका साथ उठाउने आफ्नो प्रतिबद्धता रहेको उनले बताए।
प्रकाशित मिति: २९ असार २०८३, सोमबार










