२० वर्षपछि विश्वकपमा स्पेन–फ्रान्स भिड्दै, अर्को सेमिफाइनलमा अर्जेन्टिना र इंग्ल्यान्ड आमनेसामने
काठमाडौँ । युरोपका दुई फुटबल शक्ति राष्ट्र स्पेन र फ्रान्स फिफा विश्वकपमा २० वर्षपछि एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्न लागेका छन्।
फिफा विश्वकप २०२६ को सेमिफाइनलमा बुधबार स्पेन र फ्रान्सबीच खेल हुने भएको हो। विश्वकपमा यी दुई टोली पछिल्लोपटक सन् २००६ मा जर्मनीमा भएको विश्वकपमा आमनेसामने भएका थिए। त्यसबेला फ्रान्सले स्पेनलाई ३–१ ले पराजित गरेको थियो।
अन्तिम १६ मा स्पेनलाई हराएको फ्रान्स त्यस संस्करणको फाइनलसम्म पुगेको थियो। तर उपाधि भिडन्तमा इटलीसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै उपविजेतामै सीमित भएको थियो।
विश्वकप इतिहासमा स्पेन र फ्रान्सबीच हालसम्म एक पटक मात्र भेट भएको छ। समग्र अन्तर्राष्ट्रिय फुटबलमा भने दुवै टोलीबीच ३८ खेल भएका छन्। तीमध्ये स्पेन १८ खेलमा विजयी हुँदा फ्रान्सले १३ खेल जितेको छ भने सात खेल बराबरीमा सकिएका छन्।
यी दुई टोलीबीच पछिल्लोपटक सन् २०२५ जुन ६ मा नेसन्स लिगको सेमिफाइनलमा प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा स्पेनले फ्रान्सलाई ५–४ ले पराजित गरेको थियो।
यता दोस्रो सेमिफाइनलमा अर्जेन्टिना र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। अर्जेन्टिनी कप्तान लियोनल मेसीले आफ्नो लामो अन्तर्राष्ट्रिय करिअरमा पहिलो पटक इंग्ल्यान्डविरुद्ध खेल्न लागेका छन्।
विश्वकप इतिहासमा अर्जेन्टिना र इंग्ल्यान्डबीच पाँच पटक भेट भएको छ। सन् १९६२ मा भएको पहिलो भेटमा इंग्ल्यान्ड विजयी भएको थियो। त्यसपछि सन् १९६६ मा पनि अर्जेन्टिनालाई पराजित गर्दै इंग्ल्यान्डले विश्वकप उपाधि जितेको थियो।
सन् १९८६ को विश्वकपमा डिएगो म्याराडोनाको चर्चित ‘ह्यान्ड अफ गड’ गोल र ‘गोल अफ द सेन्चुरी’ को मद्दतमा अर्जेन्टिनाले इंग्ल्यान्डलाई हराउँदै विश्वकप उपाधि जितेको थियो।
सन् १९९८ को विश्वकपमा डेभिड बेकह्याम रातो कार्ड पाएपछि पेनाल्टी सुटआउटमा इंग्ल्यान्ड प्रतियोगिताबाट बाहिरिएको थियो। त्यसको चार वर्षपछि सन् २००२ को विश्वकपको समूह चरणमा बेकह्यामकै पेनाल्टी गोलको मद्दतमा इंग्ल्यान्डले १–० को जित निकाल्दै पुरानो हारको बदला लिएको थियो।
अर्जेन्टिना र इंग्ल्यान्डबीचको प्रतिस्पर्धा विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिद्वन्द्वितामध्ये एक मानिन्छ। अब विश्वकप २०२६ को सेमिफाइनलमा यी चार फुटबल महाशक्तिमध्ये कुन दुई टोली फाइनल पुग्छन् भन्नेमा विश्व फुटबल समर्थकहरूको ध्यान केन्द्रित भएको छ।
प्रकाशित मिति: २९ असार २०८३, सोमबार










