मिटरब्याज पीडितका गुनासा सुन्न निजगढ पुगे गृहमन्त्री गुरुङ
बारा, ३० असार । गृहमन्त्री सुदन गुरुङ मिटरब्याज पीडितहरूको गुनासो सुन्न र समस्या समाधानका लागि पहल गर्न मंगलबार बाराको निजगढ पुगेका छन्।
जनकपुरधामबाट न्यायको माग गर्दै काठमाडौँतर्फ पैदल यात्रा गरिरहेका मिटरब्याज पीडितहरूसँग उनले निजगढ उद्योग वाणिज्य सङ्घको सभाहलमा प्रत्यक्ष संवाद गरेका हुन्।
संवादका क्रममा पीडितहरूले मिटरब्याजका नाममा बनाइएका फर्जी कागजात खारेज गर्न, विशेष ऐन र न्यायाधिकरण गठन गर्न तथा कब्जा गरिएका सम्पत्ति फिर्ता गराउन माग गरेका छन्।
गृहमन्त्री गुरुङले पीडितहरूका गुनासा लिखित रूपमा समेत सङ्कलन गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिएका छन्। कानुनविपरीतका गतिविधिमा संलग्न जोकोहीलाई कारबाही गरिने भन्दै उनले आफ्नो नाम वा तस्बिर प्रयोग गरेर ठगी वा धम्की दिए तुरुन्त प्रहरीलाई जानकारी गराउन आग्रह गरेका छन्।
पीडितहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताएका छन्। यद्यपि गृहमन्त्रीसँगको प्रत्यक्ष संवादपछि सरकारले समस्या समाधानमा गम्भीर पहल गर्ने विश्वास व्यक्त गरेका छन्।
प्रकाशित मिति: ३० असार २०८३, मंगलबार










