मिटरब्याज पीडितका समस्या समाधानका लागि आयोगका प्रतिवेदन कार्यान्वयन गरिने
काठमाडौँ, ३० असार । सरकारले मिटरब्याज तथा अनुचित लेनदेनबाट पीडित नागरिकका समस्या समाधानका लागि विगतमा गठन भएका आयोग र समितिका प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याज पीडितको समस्या समाधानका लागि गठित आयोगका प्रतिवेदन कार्यान्वयन गर्ने जिम्मेवारी गृह मन्त्रालयलाई दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए।
बैठकले विपद् खोज तथा उद्धारमा खटिने सशस्त्र प्रहरी बलका कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय पनि गरेको छ। विपद्का समयमा नागरिकको जिउधनको रक्षा गर्ने क्रममा खटिने सुरक्षाकर्मीको मनोबल उच्च बनाउन यस्तो व्यवस्था गरिएको मन्त्री पोखरेलले बताए।
त्यसैगरी, अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका तर्फबाट सहभागी भई पदक जित्ने खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
बैठकले नेपाल वायुसेवा निगमको सञ्चालक समितिको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठलाई जिम्मेवारी दिने निर्णय गरेको छ। उनले महाप्रबन्धकको जिम्मेवारीसमेत सम्हाल्नेछन्।
प्रकाशित मिति: ३० असार २०८३, मंगलबार










