मकवानपुरका मुख्य सडकमा राति सवारी सञ्चालन बन्द
हेटौँडा, ३० असार । अविरल वर्षाका कारण बाढी, पहिरो तथा खोलानालामा पानीको बहाव बढेपछि मकवानपुरका केही मुख्य सडकमार्गमा मंगलबार राति सवारी सञ्चालन बन्द गरिएको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा–भैँसे–काठमाडौँ सडकखण्ड र हेटौँडा हुँदै काठमाडौँ जाने कान्ति राजमार्गमा असार ३० गते साँझ ६ः३० बजेदेखि असार ३१ गते बिहान ५ बजेसम्म सवारी आवागमन रोक्ने निर्णय गरेको हो।
प्रशासनका अनुसार थप वर्षा हुने सम्भावना, बागझारा क्षेत्रमा अचानक ठूलो बाढी आउन सक्ने जोखिम तथा भीमफेदीस्थित बेलिब्रिज मर्मतका क्रममा वैकल्पिक डाइभर्सन बगाएका कारण रातिको यात्रा रोकिएको हो।
हेटौँडा–भीमफेदी–सिस्नेरी सडकखण्डमा वर्षासँगै ढुङ्गा खस्ने र पहिरो जाने उच्च जोखिम रहेकाले यात्रुको सुरक्षाका लागि यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले यात्रुको सुरक्षा तथा सम्भावित सडक दुर्घटना न्यूनीकरणका लागि रात्रिकालीन सवारी सञ्चालन बन्द गरिएको बताए। अत्यावश्यक अवस्थाबाहेक रातिको समयमा यात्रा नगर्न चालक र यात्रुलाई प्रशासनले आग्रह गरेको छ।
विपद् वा आपत्कालीन अवस्था आएमा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रको निःशुल्क नम्बर १२३४, नजिकको सुरक्षा निकाय वा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न पनि प्रशासनले अनुरोध गरेको छ।
प्रकाशित मिति: ३० असार २०८३, मंगलबार










