भोलिदेखि पुनः भरी सिलिन्डर ग्यास बिक्री वितरण हुने
काठमाडौँ । नेपाल आयल निगमले भोलिदेखि देशभर पुनः १४.२ केजी क्षमताको पूर्ण एलपी ग्यास सिलिन्डर बिक्री वितरण गर्ने व्यवस्था मिलाएको छ।
बजारमा ग्यासको उच्च माग र आपूर्ति व्यवस्थापनलाई ध्यानमा राख्दै निगमले केही समयअघि उद्योगहरूलाई आधा सिलिन्डर (७.१ केजी) ग्यास बिक्री गर्न निर्देशन दिएको थियो। तर इन्डियन आयल कर्पोरेसनका विभिन्न बोटलिङ प्लान्ट र रिफाइनरीबाट हुने लोडिङमा सुधार आएपछि पुरानै व्यवस्था लागू गर्ने निर्णय गरिएको निगमले जनाएको छ।
निगमद्वारा जारी सूचनाअनुसार भोलिदेखि लागू हुने गरी १४.२ केजी ग्यास सिलिन्डरको उपभोक्ता मूल्य २ हजार ६० रुपैयाँ कायम गरिएको छ।
निगमले हाल संक्रमणकालीन अवस्था रहेकाले केही समयसम्म बजारमा ७.१ केजी र १४.२ केजी दुवै प्रकारका सिलिन्डर उपलब्ध हुन सक्ने जनाएको छ। ७.१ केजीका सिलिन्डरहरू पूर्ण रूपमा प्रतिस्थापन हुन केही समय लाग्ने भएकाले दुवै किसिमका ग्यास सिलिन्डर बिक्री वितरण हुन सक्ने उल्लेख गरिएको छ।
निगमले उपभोक्तालाई आवश्यकताअनुसार ग्यास खरिद गर्न र अनावश्यक मौज्दात नगर्न पनि आग्रह गरेको छ।
प्रकाशित मिति: ३० असार २०८३, मंगलबार










