विपद् पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन सरकारको जोड
काठमाडौँ । विपद्को समयमा नागरिकसम्म छिटो, भरपर्दो र प्रभावकारी रूपमा सूचना पुर्याउने उद्देश्यले सूचना तथा सञ्चार मन्त्रालयले विभिन्न सरोकारवाला निकायसँग विपद् आपतकालीन पूर्वसूचना तथा प्रारम्भिक चेतावनी प्रणालीबारे छलफल गरेको छ।
मन्त्रालयमा आयोजित छलफलमा ‘सेल ब्रोडकास्ट’ जस्ता आधुनिक प्रविधिको प्रयोग, आवश्यक बजेट, जनशक्ति, कानुनी व्यवस्था र संस्थागत समन्वयका विषयमा विस्तृत चर्चा भएको थियो।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हाल सञ्चालनमा रहेको विपद् पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन दूरसञ्चार सेवा प्रदायक संस्थालाई आवश्यक निर्देशन दिएका छन्। विपद्को समयमा नागरिकको जीवन रक्षा सरकारको प्रमुख प्राथमिकता भएकाले पूर्वसूचना प्रणालीलाई थप विश्वसनीय, द्रुत र प्रविधिमैत्री बनाउन आवश्यक रहेको उनले बताए।
छलफलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल दूरसञ्चार प्राधिकरण, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, जल तथा मौसम विज्ञान विभाग, खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, नेपाल टेलिकम, एनसेललगायत निकायका प्रतिनिधिहरू सहभागी थिए।
छलफलका क्रममा कुनै निश्चित क्षेत्रमा रहेका सबै मोबाइल प्रयोगकर्तासम्म एकैपटक चेतावनी सन्देश पठाउन सकिने ‘सेल ब्रोडकास्ट’ प्रणाली नेपालका लागि प्रभावकारी हुन सक्ने सुझाव प्रस्तुत गरिएको थियो। यो प्रणाली सञ्चालनका लागि मोबाइल नम्बर वा सिमकार्डको विवरण आवश्यक नपर्ने र लक्षित क्षेत्रमा सक्रिय सबै मोबाइल उपकरणमा तत्काल सन्देश पठाउन सकिने विशेषता रहेको बताइएको छ।
सहभागीहरूले बाढी, पहिरो र भारी वर्षाका लागि हाल एसएमएसमार्फत सूचना पठाउने व्यवस्था रहेको उल्लेख गर्दै भूकम्प, डढेलो, हिमपहिरो, चट्याङ तथा अन्य विपद्का लागि समेत एकीकृत पूर्वसूचना प्रणाली आवश्यक रहेको बताए।
छलफलमा पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउन हाल उपलब्ध अध्ययन प्रतिवेदनका सिफारिस कार्यान्वयन गर्ने, दूरसञ्चार ऐनमा आवश्यक कानुनी व्यवस्था समावेश गर्ने तथा ‘सेल ब्रोडकास्ट’ प्रणाली कार्यान्वयनका लागि आवश्यक प्राविधिक, वित्तीय र संस्थागत तयारीबारे थप अध्ययन गर्ने विषयमा पनि सहमति भएको छ।
प्रकाशित मिति: ३० असार २०८३, मंगलबार










