आईसीसीले फेर्यो विश्वकपको ढाँचा, अब टी-२० मा ‘सुपर १०’ र नयाँ छनोट प्रणाली
काठमाडौँ, ३१ असार । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले एकदिवसीय र टी–२० विश्वकपको प्रतियोगिता ढाँचा परिवर्तन गर्ने निर्णय गरेको छ। नयाँ व्यवस्थाअनुसार विश्वकपहरूलाई थप प्रतिस्पर्धात्मक र रोमाञ्चक बनाउने लक्ष्य राखिएको छ।
टी–२० विश्वकपमा सहभागी २० टोलीलाई अब चार समूहको सट्टा पाँच समूहमा विभाजन गरिनेछ। प्रत्येक समूहमा चार टोली रहनेछन्। यसअघि चार समूहमा पाँच–पाँच टोली रहने व्यवस्था थियो।
समूह चरणपछि अब ‘सुपर ८’ को सट्टा ‘सुपर १०’ चरण खेलाइनेछ। प्रत्येक समूहका शीर्ष दुई टोली सुपर १० मा पुग्नेछन्। त्यसपछि १० टोलीलाई पाँच–पाँच टोलीका दुई समूहमा विभाजन गरिनेछ।
सुपर १० का दुवै समूहका शीर्ष टोली सिधै सेमिफाइनलमा प्रवेश गर्नेछन्। समूहका दोस्रो र तेस्रो स्थानमा रहने टोलीबीच ‘एलिमिनेटर’ खेल हुनेछ, जसका विजेता सेमिफाइनलमा पुग्नेछन्।
आईसीसीले एसोसिएट राष्ट्रहरूको विकास र विश्वकप तयारीका लागि १६ टोली सहभागी रहने छुट्टै ‘ग्लोबल प्रतियोगिता’ आयोजना गर्ने प्रस्ताव पनि अघि सारेको छ।
यस्तै १४ टोली सहभागी हुने एकदिवसीय विश्वकपलाई तीन चरणमा सञ्चालन गरिनेछ। पहिलो चरणमा पुछारका तीन टोलीबीच प्रतिस्पर्धा हुनेछ र विजेता दोस्रो चरणमा प्रवेश गर्नेछ।
दोस्रो चरणमा १२ टोलीलाई ६–६ टोलीका दुई समूहमा विभाजन गरिनेछ। दुवै समूहका शीर्ष तीन टोली तथा समग्रमा अर्को एक उत्कृष्ट टोली गरी सात टोली तेस्रो चरणमा पुग्नेछन्।
तेस्रो चरणमा सात टोलीबीच राउन्ड रोबिन प्रणालीमा प्रतिस्पर्धा हुनेछ। त्यसपछि शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् र विजेताले फाइनल खेल्नेछन्।
आईसीसीले सन् २०२८ को टी–२० विश्वकपका लागि नयाँ छनोट प्रणाली पनि तय गरेको छ। २०२६ को विश्वकप खेलेका तर स्वतः छनोट नभएका टोलीले सिधै ग्लोबल क्वालिफायर खेल्न पाउनेछन्। यस व्यवस्थाअनुसार नेपालले पनि सिधै ग्लोबल क्वालिफायरमा सहभागिता जनाउनेछ।
ग्लोबल क्वालिफायरका बाँकी आठ स्थान क्षेत्रीय छनोटमार्फत निर्धारण गरिनेछन्। अफ्रिका, एसिया र युरोपबाट दुई–दुई टोली तथा अमेरिका र पूर्वी एसिया–प्रशान्त क्षेत्रबाट एक–एक टोली छनोट हुनेछन्।
ग्लोबल क्वालिफायरबाट प्रत्येक क्षेत्रको शीर्ष टोलीसहित अन्य तीन उत्कृष्ट टोली गरी कुल आठ टोली सन् २०२८ को टी–२० विश्वकपमा स्थान बनाउने छन्।
प्रकाशित मिति: ३१ असार २०८३, बुधबार










