जनतासँगको निकटताले संसद्को जीवन्तता निर्धारण गर्छ : सभामुख अर्याल



काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले संसद्को जीवन्तता सांसदहरू जनतासँग कति निकट छन् भन्ने कुराले निर्धारण गर्ने बताएका छन्।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले जनता र संसद्बीच विश्वास, संवाद र उत्तरदायित्व जोड्ने लोकतान्त्रिक सेतु सांसदहरू रहेको बताए। जनताका आवाज र अपेक्षालाई संसद्को निर्णय प्रक्रियासम्म पुर्‍याउने तथा संसद्का निर्णयलाई जनतामाझ स्थापित गर्ने दायित्व जनप्रतिनिधिको मूल जिम्मेवारी भएको उनले उल्लेख गरे।

सभामुख अर्यालले संघ, प्रदेश र स्थानीय तहबीचको सहकारिता, सहअस्तित्व र समन्वयलाई आत्मसात गर्दै कानुन निर्माण तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रतिनिधिसभा सदस्यहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए।

चालु आर्थिक वर्षमा सरकारका नीति, कार्यक्रम, कानुन र सेवा प्रवाहप्रति जनस्तरमा देखिएका प्रतिक्रिया तथा चासोलाई सुन्ने र बुझ्ने दायित्व प्रतिनिधिसभाको रहेको उनले बताए।

नयाँ अधिवेशनमा सांसदहरूको भूमिका सक्रिय रहेको उल्लेख गर्दै सभामुख अर्यालले आगामी बैठकहरूमा अझ बढी सक्रियता र प्रभावकारी सहभागिताको अपेक्षा व्यक्त गरे।

Provide your feedback on BizChat

प्रकाशित मिति: ३१ असार २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्