सरकारबाट बाहिरियो एमाले, सुदूरपश्चिम सरकार अल्पमतमा
धनगढी, ३१ असार । नेकपा (एमाले)ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका चार मन्त्रीलाई पदबाट बर्खास्त गरेपछि एमालेले सरकारबाट समर्थन फिर्ता लिएको हो।
एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको जनाएको छ।
बजेट पुनर्लेखन नभएसम्म बजेट पारित प्रक्रियामा साथ नदिने अडान एमालेले लिएको थियो। आगामी आर्थिक वर्षको बजेट पारित हुन कठिन अवस्था सिर्जना भएपछि मुख्यमन्त्री शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेका हुन्।
एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले सहमतिका लागि भएका प्रयासलाई बेवास्ता गर्दै मुख्यमन्त्री एकलौटी ढंगले अघि बढेको आरोप लगाए। मुख्यमन्त्रीले बजेट आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित गरेको आरोप पनि उनले लगाए।
एमालेले समर्थन फिर्ता लिएसँगै सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा परेको छ।
प्रकाशित मिति: ३१ असार २०८३, बुधबार










