बारा–पर्सा औद्योगिक करिडोरका उद्योगको अनुगमन गर्दै गृहमन्त्री, वातावरणीय मापदण्ड पालना गर्न निर्देशन



बारा, ३१ असार बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित केही उद्योगले वातावरणीय मापदण्ड पालना नगरेको र स्थानीय बासिन्दाको स्वास्थ्यमा असर परेको गुनासो बढेपछि गृहमन्त्री सुधन गुरुङले बुधबार स्थलगत अनुगमन गरेका छन्।

गृहमन्त्री गुरुङले जगदम्बा स्टिल, हुलास स्टिललगायत उद्योगहरूको निरीक्षण गर्दै स्थानीयवासी, जनप्रतिनिधि, उद्योग सञ्चालक तथा सम्बन्धित सरकारी अधिकारीसँग छलफल गरेका हुन्।

स्थानीयवासीले उद्योगबाट निस्कने धुलो, धुवाँ, आवाज तथा फोहोरका कारण स्वास्थ्य समस्या बढेको गुनासो गरेका छन्। केही उद्योगले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरेको आरोपसमेत स्थानीयले लगाएका छन्।

अनुगमनपछि गृहमन्त्री गुरुङले वातावरणीय मापदण्ड र सार्वजनिक सम्पत्तिको संरक्षणमा कुनै पनि प्रकारको लापरबाही स्वीकार्य नहुने बताए। प्राप्त गुनासाबारे तथ्यगत अध्ययन गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइने उनले बताए।

औद्योगिक विकाससँगै वातावरण संरक्षण र स्थानीय नागरिकको स्वास्थ्य सुरक्षालाई समान प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै उनले उद्योगहरूलाई कानुनअनुसार सञ्चालन हुन निर्देशन दिए।

स्थानीयवासीले वातावरणीय मापदण्ड उल्लङ्घन गर्ने उद्योगमाथि निष्पक्ष छानबिन र आवश्यक कारबाही गर्न सरकारसँग माग गरेका छन्।

प्रकाशित मिति: ३१ असार २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्