कर्णाली प्रदेश सरकार पुनर्गठन, कांग्रेसका मन्त्रीको राजीनामापछि मुख्यमन्त्री कँडेलले लिए पाँच मन्त्रालयको जिम्मेवारी



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। सत्ता साझेदार नेपाली कांग्रेसबाट सरकारमा सहभागी चार मन्त्रीले सामूहिक राजीनामा दिएपछि मन्त्रिपरिषद्मा हेरफेर गरिएको हो।

सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारी तथा जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढाले मंगलबार मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाएका थिए।

मुख्यमन्त्री कँडेलले उनीहरूको राजीनामा स्वीकृत गर्दै मन्त्रिपरिषद् पुनर्गठनका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका थिए। सोही सिफारिसअनुसार प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद्को गठन, हेरफेर तथा कार्यविभाजन गरेका हुन्।

पुनर्गठित मन्त्रिपरिषद्अनुसार मुख्यमन्त्री कँडेलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सामाजिक विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी आफैंसँग राखेका छन्।

प्रदेश प्रमुखको कार्यालयका अनुसार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको रूपमा विनोदकुमार शाह, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीको रूपमा शेरबहादुर बुढा तथा भौतिक पूर्वाधार तथा सहरी विकास राज्यमन्त्रीको रूपमा गमता विकको जिम्मेवारी यथावत् राखिएको छ।

प्रकाशित मिति: ३१ असार २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्