उपत्यकाका अव्यवस्थित तार हटाउन सरकारको कडाइ, साउन दोस्रो साताभित्र पहिलो चरणको काम सक्न निर्देशन



काठमाडौँ । काठमाडौँ उपत्यकाका सडक पोलमा वर्षौंदेखि गुजुल्टो परेर रहेका तथा प्रयोगविहीन इन्टरनेट, टेलिफोन र केबलका तार व्यवस्थापन गर्न सरकारले सम्बन्धित निकायलाई समयसीमासहित काम गर्न निर्देशन दिएको छ।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा भएको अन्तरनिकाय बैठकले नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, एनसेल र आइस्पानलाई साउन दोस्रो साताभित्र पहिलो चरणमा उपत्यकाका ६ वटा रुटमा अव्यवस्थित तथा प्रयोगविहीन तार हटाउन निर्देशन दिएको हो।

बैठकले त्रिपुरेश्वर–कालीमाटी–कलङ्की, जडीबुटी–पेप्सीकोला, त्रिपुरेश्वर–लाजिम्पाट, सामाखुसी–गोङ्गबु, कीर्तिपुर तथा पुरानो बानेश्वर–गौशाला–चाबहिल क्षेत्रमा तार व्यवस्थापनलाई प्राथमिकता दिने निर्णय गरेको छ।

मन्त्री तिमिल्सिनाले अव्यवस्थित तारको समस्या सबै निकायको साझा कमजोरीका कारण उत्पन्न भएको भन्दै परिणाममुखी रूपमा काम गर्न निर्देशन दिए। प्रयोगमा नरहेका तार तत्काल हटाउन र स्पष्ट कार्ययोजना बनाएर अघि बढ्न उनले आग्रह गरे।

ऊर्जा मन्त्री श्रेष्ठले दीर्घकालीन समाधानका लागि सबै निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए। उनले पाइलट परियोजनाका रूपमा केही क्षेत्रमा काम सुरु गरेर क्रमिक रूपमा अन्य क्षेत्रमा विस्तार गर्ने योजना रहेको उल्लेख गरे।

बैठकमा सबै सेवा प्रदायकले आफ्ना तारमा अनिवार्य रूपमा पहिचान खुल्ने ट्याग राख्ने, नियमित समन्वय गर्ने तथा कामको प्रगति समीक्षा गर्दै अघि बढ्ने निर्णय पनि गरिएको छ।

प्रकाशित मिति: ३१ असार २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्