नेपाल र भारतमा एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘Veel’ को औपचारिक शुभारम्भ
काठमाडौँ । एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘Veel’ ले नेपाल र भारतमा आफ्नो औपचारिक सेवा शुभारम्भ गरेको छ। कम्पनीले दक्षिण एसियाली बजारमा विस्तार गर्दै व्यवसाय र कन्टेन्ट क्रिएटरलाई एउटै प्लेटफर्ममार्फत जोड्ने उद्देश्यसहित सेवा सुरु गरेको हो।
Veel ले व्यवसाय र क्रिएटरबीचको सहकार्यलाई सहज, व्यवस्थित र प्रभावकारी बनाउने एकीकृत प्लेटफर्म उपलब्ध गराउने जनाएको छ। यसमार्फत व्यवसायहरूले उपयुक्त क्रिएटर छनोट गर्न, क्याम्पेन सञ्चालन गर्न, भिडियो सम्पादन तथा स्वीकृति दिन, भुक्तानी व्यवस्थापन गर्न र कन्टेन्टको अधिकार सुरक्षित गर्न सक्नेछन्। त्यस्तै, नेपाल र भारतका क्रिएटरहरूले स्वदेशी तथा अन्तर्राष्ट्रिय ब्रान्डसँग प्रत्यक्ष सहकार्य गर्ने अवसर पाउनेछन्।
काठमाडौँमा आयोजित शुभारम्भ कार्यक्रममा प्रविधि, स्टार्टअप, क्रिएटर, व्यवसाय तथा कूटनीतिक क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा Veel का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिलीप ढकालले दक्षिण एसियाको क्रिएटर अर्थतन्त्रलाई विश्वस्तरीय अवसरसँग जोड्ने लक्ष्यका साथ प्लेटफर्म सञ्चालनमा ल्याइएको बताए। उनले Veel ले क्रिएटरलाई दिगो करियर निर्माण गर्न र व्यवसायलाई प्रभावकारी डिजिटल मार्केटिङमार्फत विकास गर्न सहयोग गर्ने बताए।
कार्यक्रममा नेपालका लागि अमेरिकी नियोगका कार्यवाहक प्रमुख स्कट उर्बोम र नेपालका लागि कोस्टारिकाका मानार्थ महावाणिज्यदूत तथा ग्लोबल इक्विटी फन्डका संस्थापक डा. मनीष थापा सहभागी थिए।
स्कट उर्बोमले अमेरिकी उद्यमशीलता र नेपाली प्रतिभाबीच सहकार्यको उत्कृष्ट उदाहरणका रूपमा Veel लाई उल्लेख गर्दै यसले नयाँ अवसर सिर्जना गर्ने र व्यावसायिक सम्बन्धलाई थप बलियो बनाउने बताए।
नेपाली–अमेरिकी उद्यमी दिलीप ढकालद्वारा स्थापित Veel एक एआई–सञ्चालित भिडियो मार्केटिङ प्लेटफर्म हो। यसले ब्रान्ड र क्रिएटरलाई एउटै डिजिटल कार्यप्रवाहमा जोडेर अभियान व्यवस्थापन, कन्टेन्ट निर्माण, समीक्षा, स्वीकृति र भुक्तानी प्रक्रियालाई सरल बनाउने जनाएको छ।
हाल Veel सँग विश्वभरका ४५० भन्दा बढी ब्रान्ड, ५ लाख ५० हजारभन्दा बढी प्रमाणित क्रिएटर तथा १२१ भन्दा बढी देश आबद्ध रहेको कम्पनीले जनाएको छ।
नेपालमा भुक्तानी व्यवस्थापनका लागि Veel ले एनसीएचएल, फोनपे, इसेवा, खल्ती र हाम्रो पे सँग साझेदारी गरेको छ। कम्पनीका अनुसार यसले नेपालका व्यवसाय र क्रिएटरलाई स्थानीय भुक्तानी प्रणालीमार्फत सहज कारोबारको सुविधा उपलब्ध गराउनेछ।
प्रकाशित मिति: ३२ असार २०८३, बिहिबार










