यी जिल्लामा आज आकस्मिक बाढीको उच्च जोखिम
काठमाडौं । वर्षासँगै देशका केही जिल्लामा आज (साउन ४) आकस्मिक बाढीको उच्च जोखिमको पूर्वानुमान छ । कतिपय सानाठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस दिन गोरखा, रुपन्देही, अर्घाखाँची, कपिलवस्तु, दाङ भई बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिमको पूर्वानुमान छ ।
झापा, मोरङ, इलाम, सुनसरी, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, गुल्मी, पाल्पा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), प्युठान, बाँके, बर्दिया, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर, बैतडी, दार्चुला र आसपासका जिल्ला भई साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने सम्भावना छ । यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको पूर्वानुमान रहेको महाशाखाले जनाएको छ ।
“उक्त जिल्लाहरूका नदीतटीय क्षेत्रहरूमा सतर्कता अपनाउनुहुन अनुरोध छ,” महाशाखाले भनेको छ ।
सप्तकोसी, तमोर, अरूण, दूधकोसी, तामाकोसी, सुनकोसी, नारायणी, त्रिशूली, कर्णाली, महाकालीलगायत ठूला नदीमा पनि बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।
“आज बिहानको मापनानुसार कोसी, नारायणी, वाग्मती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहेको छ,” महाशाखाले भनेको छ ।
प्रकाशित मिति: ४ श्रावण २०८३, सोमबार







