साथीहरूसँग गेष्ट हाउस गएकी किशोरी मृत फेला, चारजना पक्राउ
भक्तपुर । भक्तपुर नगरपालिका–१, दुधपाटीस्थित लुम्बिनी गेष्ट हाउसमा बसेकी १८ वर्षीया एक किशोरी मृत भेटिएकी छन् ।
दोलखा भीमेश्वर–९, खरीढुंगा घर भई हाल चाँगुनारायण–९, टेडोल बस्दै आएकी सलिना श्रेष्ठ सोमबार बिहान करिब ३ः३० बजे उनी गेष्ट हाउसको पछाडिपट्टि लडिरहेको अवस्थामा फेला परेकी थिए ।
तत्काल भक्तपुर अस्पताल लगिए पनि उनको उपचारका क्रममा बिहान ३ः५० बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।
घटनासँग सम्बन्धित चार जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सलिना आइतबार राति करिब १० बजे अन्य चार जनासँग गेष्ट हाउस पुगेकी थिइन्।
उनीहरूले दुईवटा कोठा लिएर बसेका थिए। गेष्ट हाउसका कर्मचारीका अनुसार समूहले मदिरा सेवन गर्नुका साथै कोठाभित्र होहल्ला समेत गरेका थिए।
घटनापछि सलिनासँग रहेका दुई पुरुष र दुई महिलालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ। उनीहरू सबै २३ वर्षभन्दा कम उमेरका रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
मृतकको शव हाल भक्तपुर अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ।
प्रकाशित मिति: ४ श्रावण २०८३, सोमबार







