च्याउ टिप्न जाँदा सम्पर्कविहीन भएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा



कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका १४ जना महिला सकुशल परिवारको सम्पर्कमा आएका छन्।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको रणसिंह दल गणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेका अनुसार सोमबार मध्याह्न करिब १२ः१५ बजे उनीहरू आफैं परिवारको सम्पर्कमा आएका हुन्।

सम्पर्कमा आउनेमा बागफाँटाका सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनीषा चौधरी, रीता चौधरी, सुनिता चौधरी, विमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतिक्षा सुनार र सिवानी सुनार रहेका छन्।

उनीहरूका अनुसार निकुञ्जभित्र च्याउ खोज्दै जाँदा बाटो बिर्सिएपछि परिवारसँग सम्पर्क हुन सकेको थिएन।

सुरक्षित रूपमा सम्पर्कमा आएपछि उनीहरूको अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारीसहितको टोली भीमदत्त नगरपालिका–१९ बागफाँटा पुगेको छ।

उक्त समूह आइतबार बिहान करिब ११ बजे च्याउ टिप्न निकुञ्ज प्रवेश गरेको थियो। उनीहरू सम्पर्कविहीन भएपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी तथा निकुञ्ज प्रशासनले संयुक्त रूपमा खोजी अभियान सञ्चालन गरेका थिए।

यसअघि आइतबार साँझदेखि सम्पर्कविहीन भएका बेल्डाडी गाउँपालिका–२ का तीन जना महिलालाई पनि रणसिंह दल गणका सहसेनानी सुमन जिसी नेतृत्वको टोलीले सोमबार बिहान सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएको थियो।

निकुञ्जभित्र अवैध रूपमा च्याउ टिप्न प्रवेश गरेका तीन समूह सम्पर्कविहीन भएपछि सुरक्षा निकायले व्यापक खोजी अभियान चलाएको थियो।

प्रकाशित मिति: ४ श्रावण २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्