कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा
सुर्खेत, ९ साउन । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन्।
शुक्रबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्। नेपाली कांग्रेस र नेकपाले असार ३२ गते उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।
अविश्वासको प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेकाबीच विश्वासको मत प्राप्त गर्ने सम्भावना नरहेपछि कँडेलले राजीनामा दिने निर्णय गरेका हुन्। उनले प्रदेश प्रमुखसमक्ष पुगेर राजीनामाको औपचारिक प्रक्रिया पूरा गर्ने बताए।
बैठकमा बोल्दै कँडेलले पदभन्दा जनताको सेवा महत्वपूर्ण रहेको उल्लेख गर्दै आफ्नो कार्यकालमा विभिन्न सुधारका काम भएको दाबी गरे।
कँडेल पहिलो पटक २०८० चैत २७ गते एमाले–माओवादी केन्द्र गठबन्धनबाट मुख्यमन्त्री बनेका थिए। केन्द्रको सत्ता समीकरण परिवर्तनपछि कांग्रेससँग आधाआधा कार्यकालको सहमतिमा २०८१ साउन २१ गतेदेखि कांग्रेसको समर्थनमा पनि उनले सरकारको नेतृत्व गरेका थिए।
४० सदस्यीय कर्णाली प्रदेशसभामा कांग्रेसका १५, नेकपाका १३, सभामुखसहित एमालेका १० तथा राप्रपा र अन्य दलका १/१ सदस्य छन्। सरकार गठनका लागि २१ सांसदको समर्थन आवश्यक पर्छ।
अविश्वास प्रस्तावमा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई नयाँ मुख्यमन्त्री बनाउने प्रस्ताव गरिएको छ।
यसअघि असार ३१ गते सत्ता साझेदार कांग्रेसका चार मन्त्रीले कर्णाली प्रदेश सरकारबाट सामूहिक राजीनामा दिएका थिए।
Provide your feedback on BizChat
प्रकाशित मिति: ९ श्रावण २०८३, शनिबार







