महालक्ष्मी विकास बैंकलाई इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्ड
काठमाडौं । महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्स (आईसीसी), कोलकाता, भारतद्वारा प्रदान गरिने प्रतिष्ठित ‘राइजिङ स्टार–ग्रोथ’ (Rising Star–Growth) अवार्डबाट सम्मानित भएको छ।
बैंकले डिजिटल बैंकिङ सेवाको विस्तार, नवीन वित्तीय उत्पादनको विकास, व्यवसाय विस्तार, वित्तीय पहुँच अभिवृद्धि तथा उत्तरदायी बैंकिङमा गरेको उत्कृष्ट योगदानका आधारमा उक्त सम्मान प्राप्त गरेको जनाएको छ।
यो सम्मान जुलाई २४, २०२६ मा भारतको नयाँ दिल्लीमा आयोजित ‘चौथो इमर्जिङ एसिया बैंकिङ कनक्लेभ एन्ड अवार्ड्स’ समारोहमा प्रदान गरिएको हो। कार्यक्रममा भारत, नेपाल, श्रीलंका, म्यानमार र बंगलादेशका बैंकहरूको सहभागिता रहेको थियो।
यसअघि पनि महालक्ष्मी विकास बैंकले ‘एसेट क्वालिटी’ (Asset Quality) विधाअन्तर्गत अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको थियो। बैंकले यस अवार्डले अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो पहिचान थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
‘सबल बैंक, सफल सहकार्य’ भन्ने नारासहित सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले हालै काठमाडौं महानगरपालिका–३०, ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ। बैंकका अनुसार उक्त हबमार्फत ग्राहकलाई अत्याधुनिक, सुरक्षित र सहज डिजिटल बैंकिङ सेवा उपलब्ध गराइनेछ।
प्रकाशित मिति: १० श्रावण २०८३, आइतबार







