कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान
सुर्खेत, १० साउन । कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। प्रदेश प्रमुखको कार्यालयले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेको हो।
प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री पदका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको छ।
प्रदेश प्रमुखको कार्यालयका सचिव हिरालाल चौधरीका अनुसार इच्छुक दाबीकर्ताले साउन १२ गते साँझ ५ बजेभित्र मुख्यमन्त्री पदका लागि दाबी प्रस्तुत गर्नुपर्नेछ।
यसअघि मुख्यमन्त्री यामलाल कँडेलले शनिबार पदबाट राजीनामा दिनुभएको थियो। प्रदेश प्रमुखले उहाँको राजीनामा स्वीकृत गरिसक्नुभएको छ। प्रदेश सभामा अविश्वास प्रस्ताव दर्ता भएपछि कँडेलले पद त्याग गर्नुभएको हो।
असार ३२ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका १६ जना प्रदेश सभा सदस्यले मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए। त्यसपछि प्रदेश सरकार परिवर्तनको राजनीतिक प्रक्रिया तीव्र बनेको थियो।
कँडेल पहिलो पटक २०८० चैत २७ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। केन्द्रको राजनीतिक समीकरण परिवर्तन भएपछि उहाँले २०८१ साउन २१ गते नेपाली कांग्रेसको समर्थनमा पुनः विश्वासको मत प्राप्त गर्दै दोस्रो पटक मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो।
अब नयाँ राजनीतिक समीकरणअनुसार कर्णाली प्रदेशमा नयाँ सरकार गठन हुने तयारी सुरु भएको छ।
प्रकाशित मिति: १० श्रावण २०८३, आइतबार







