माइतीघर डुबानको मुख्य कारण: पूर्वाधार त्रुटि, अतिक्रमण र प्राकृतिक जलाधारको विनाश



काठमाडौँ । माइतीघर मण्डला क्षेत्रमा वर्षायाममा हुने डुबानको प्रमुख कारण पूर्वाधार निर्माणमा भएको प्राविधिक त्रुटि, जल प्रवाह क्षेत्रको अतिक्रमण तथा प्राकृतिक जलशोषक क्षेत्रको विनाश रहेको निष्कर्ष सार्वजनिक भएको छ।

गत साउन ५ गते वर्षासँगै माइतीघर क्षेत्र जलमग्न हुन थालेपछि काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलको नेतृत्वमा विभिन्न सरकारी तथा विकास साझेदार निकायका प्रतिनिधिहरूले स्थलगत अनुगमन गरेका थिए। त्यसपछि तयार पारिएको प्राविधिक प्रतिवेदन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिकार्य शाखा प्रमुख रामबहादुर केसी संयोजक रहेको समितिले बुझाएको हो।

प्रतिवेदनअनुसार माइतीघरको ढल निकास प्रणालीमै गम्भीर इन्जिनियरिङ समस्या देखिएको छ। माथिल्लो भागबाट आउने ९० सेन्टिमिटर व्यासको ढल तल्लो भागमा पुग्दा ६० सेन्टिमिटरमा साँघुरिने भएकाले पानीको चाप व्यवस्थापन हुन सकेको छैन। यसले ‘बोटलनेकिङ’ समस्या सिर्जना गरी वर्षाको पानी सडकमा बाहिरिने गरेको उल्लेख गरिएको छ।

त्यस्तै, टुकुचा खोलाको जलसतह बढ्दा ढलको पानी खोलातर्फ बग्न नसकी उल्टै सडक र बस्तीतर्फ फर्कने (ब्याक फ्लो) समस्या पनि डुबानको अर्को मुख्य कारण रहेको प्रतिवेदनले औँल्याएको छ।

प्राकृतिक जलाधार क्षेत्र मासिँदा जोखिम बढ्यो

प्रतिवेदनले माइतीघर आसपासका खुला क्षेत्रहरू विगतमा प्राकृतिक जलाधारका रूपमा काम गर्ने गरेको जनाएको छ। ती क्षेत्रहरूले वर्षाको पानी जमिनभित्र सोस्ने भएकाले सतही बहाव कम हुन्थ्यो। तर हाल जिल्ला प्रहरी परिसर काठमाडौँ, जिल्ला सरकारी वकिलको कार्यालयलगायतका संरचना निर्माण भएपछि खुला जमिन कङ्क्रिटले ढाकिएको छ।

यसका कारण पानी जमिनभित्र सोसिने प्रक्रिया लगभग बन्द भएको र सतहमा बग्ने पानीको मात्रा बढेर माइतीघर क्षेत्रमा केन्द्रित हुने गरेको प्राविधिक टोलीको निष्कर्ष छ।

अनुगमनका क्रममा कतिपय स्थानमा ढलमाथि नै निजी तथा सरकारी संरचना निर्माण गरिएका कारण नियमित मर्मत र सरसफाइमा बाधा पुगेको पाइएको छ। साथै ढलभित्र प्लास्टिकजन्य फोहर, बोतल, ढुङ्गा र गिटी थुप्रिएका कारण पानीको बहाव अवरुद्ध हुने गरेको प्रतिवेदनमा उल्लेख छ।

यसअघि नै कार्यवाहक प्रमुख डङ्गोलले स्थानीय प्रशासन र सम्बन्धित निकायसँग समन्वय गरी ढलमा भएका अवरोध हटाउन निर्देशन दिनुभएको थियो।

प्रकाशित मिति: १० श्रावण २०८३, आइतबार