पोखरामा सहमतिपछि मात्रै मतगणना गरिने, आयोगको यस्तो छ तयारी


 


पोखरा, जेठ ८
विवादकाबीच रोकिएको पोखारा लेखनाथ महानगरपालिकाको मतगणना सहमतिमा मात्रै अघि बढ्ने भएको छ ।

निर्वाचन आयोगको निर्देशनमा जिल्ला निर्वाचन कार्यालयलाई मतगणना गर्न असहज भएपछि सहमतिमा मात्रै अघि बढ्ने भएको हो । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १७ मा केही चाक्लो स्वस्तिक छाप देखिएको र त्यसलाई सदर मान्ने भनिएपछि नेपाली काँग्रेस, माओबादी केन्द्र, राप्रपालगायतका दलहरुले विरोध गरेर मतगणना बहिस्कार गरेका थिए ।

जिल्ला निर्वाचन कार्यालयले माथि निर्देशन भन्दै मतगणना गर्न खोजेपछि कांग्रेसकादुई जना सांसद जयबहादुर थापा र शारदा पौडेल मतगणनास्थलमै धर्ना बसेका थिए ।

अब निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाएर सहमतीमा मतगणना गर्न आयोगबाट केन्द्रीय प्रतिनिधि पठाउने तयारी गरेको छ । सहमति अनुसार आज दिउँसो सर्वदलीय बैठक बस्ने कार्यक्रम तय गरिएको छ ।

प्रकाशित मिति: ८ जेष्ठ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्