निर्वाचित जनप्रतिनिधिलाई जेठ अन्तिम सातादेखि प्रशिक्षण


 


काठमाडौँ, जेठ ९

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले निर्वाचित नगर तथा गाउँपालिका प्रमुखलगायतका पदाधिकारीलाई नयाँ संरचनाअनुसार स्थानीय अधिकारकाबारेमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

यही जेठको अन्तिम सातामा विज्ञबाट उपलब्ध गराइने सो अभिमुखीकरण नगर तथा गाउँपालिका उपप्रमुख तथा प्रमुख कार्यकारी अधिकृतलाई समेत प्रदान गरिनेछ । स्थानीय विकास, कानुन तथा योजना निर्माणमा विशेषज्ञता कायम गरेका जनशक्तिले १२ वटा समूहमा कक्षा लिनेगरी पाठ्यक्रम विकास गरिएको छ ।

पहिलो चरणमा निर्वाचन सम्पन्न भएका तीन वटा प्रदेशमा प्रशिक्षण दिइने छ त्यसपछि निर्वाचन हुन बाँकी रहेका चार प्रदेशमा पनि निर्वाचन भएपछि सो अभिमुखीकरणलाई निरन्तरता दिइने छ ।

मन्त्रालयका सहसचिव केदारनाथ शर्माले स्थानीय विकास तथा पूर्वाधार निर्माणमा जनप्रतिनिधिले ध्यान दिनुपर्ने भएकाले योजना निर्माण, स्थानीय तहमा सङ्घको समन्वय तथा जनशक्ति, स्रोत व्यवस्थापन लगायतका विषयमा जानकारी दिइने तयारी भइरहेको बताउनुभयो ।

प्रदेश नं ३ का लागि काठमाडौँ, प्रदेश नं ४ का लागि पोखरा र प्रदेश नं ६ का लागि सुर्खेतमा सो कार्यक्रम तीन दिनसम्म सञ्चालन हुनेछ । बन्न लागेको स्थानीय शासन ऐनले परिकल्पना गरेका विषयमा जनप्रतिनिधिलाई जानकारी गराएर सशक्त रुपमा स्थानीय क्षेत्रको विकासमा सहयोग पु¥याउने लक्ष्य राखिएको छ ।

कार्यक्रममा २८३ नगर तथा गाउँपालिका प्रमुख र उपप्रमुखका साथै त्यहाँ कार्यरत २८३ कार्यकारी अधिकृत गरी ८४९ जनालाई तालिम दिइने मन्त्रालयका योजना महाशाखाका उपसचिव चिरञ्जीवी तिमल्सिनाले बताउनुभयो ।

दोस्रो चरणको निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिका लागि पनि सो कार्यक्रम सञ्चालन गरिनेछ । रासस

प्रकाशित मिति: ९ जेष्ठ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्