पर्ख र हेरको रणनीतिमा नेपालः कतारमा कस्तो अवस्थामा छन् नेपाली ?


 



काठमाडौं, जेठ २४
कतारमा गहिरिएको संकटबाट त्यहाँ रहेका नेपालीको रोजगारीमा तत्काल कुनै असर नगर्ने सरकारी अधिकारीहरूले बताएका छन् ।

कतारसँग सातवटा छिमेकी मुलुकले तत्कालका लागि कूटनीतिक सम्बन्धविच्छेद गरेपछि त्यहाँ कार्यरत नेपाली र आगामी दिनमा कतारमा रोजगारीको अवसर के होला भन्ने जिज्ञासा बढेको छ । नयाँ पत्रिकामा खबर छ ।

श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता तथा सहसचिव गोविन्दमणि भुर्तेलका अनुसार कतारमा रोजगारीको अवसर र त्यहाँ कार्यरत कामदारको भविष्य के हुन्छ भन्ने सन्दर्भमा सरकार पर्ख र हेरको रणनीतिमा छ ।

 

नाकाबन्दी भए मात्र रोजगारी समस्या

श्रम तथा रोजगार मन्त्रालयका अनुसार कतारमा अहिले साढे ३ देखि ४ लाख नेपाली कामदार कार्यरत छन् ।

त्यसमध्ये ठूलो हिस्सा निर्माण क्षेत्रमा सक्रिय छ । मन्त्रालयका अनुसार भारतपछि धेरै नेपाली कामदार निर्माण क्षेत्रमा कार्यरत छन् । त्यसकारण कूटनीतिक विच्छेद र नाकाबन्दीले रोजगारीमा तत्काल ठूलो असर नपर्ने, तर आर्थिक नाकाबन्दी लामो समय रहेमा भने समस्या आउन सक्ने मन्त्रालयको भनाइ छ ।

कतार समस्या लामो समय लम्बिएमा नयाँ रोजगारीको अवसर नआउने र कतारको गन्तव्य नै खतरामा पर्ने सम्भावनाबारे आशंका सुरु भएको छ । तर, व्यवसायीहरू भने यो समस्या शीघ्र हल हुनेमा आशावादी छन् ।

श्रम तथा रोजगार मन्त्रालयका प्रबक्ता गोविन्दमणि भुर्तेलले कतार समस्याबाट नेपालीमाथि पर्ने तत्कालीन असर वायुसेवाको टिकट हो, यसका लागि पनि विकल्प छन् । आगामी दिनमा के हुन्छ आजै भन्न सकिने अवस्था छैन । परिस्थिति जसरी अगाडि बढ्छ, सरकारले त्यसैअनुसार रणनीति बनाउँछ ।

 

हवाई भाडा बढ्ने आशंका

कतारसँग कूटनीतिक सम्बन्धविच्छेद गरेका मुलुकका वायुसेवा कम्पनीले कतारको दोहामा हुने सबै उडान रद्द गरेपछि नेपाल–दोहा गन्तव्यको हवाई भाडा वृद्धि हुने आशंका बढेको छ ।

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार खाडी मुलुकका वायुसेवा कम्पनीले नेपालबाट दोहा जाने यात्रुको टिकट काट्न बन्द गरिसकेका छन् । तर, त्यहाँ पुग्ने विकल्प भने बन्द भइसकेको छैन ।

‘अब वायुसेवा कम्पनीले मौकाको फाइदा उठाउँदै दोहा गन्तव्यको भाडा बढाउन सक्छन्,’ एरोलिना ट्राभलका प्रबन्ध निर्देशक तथा सोसाइटी अफ ट्राभल एन्ड टुर्स अपरेसन (सोट्टो) नेपालका निर्वतमान अध्यक्ष यमबहादुर खड्का भन्छन्, ‘यसलाई नेपाल एयरलाइन्सले हस्तक्षेप गर्न सक्नुपर्छ ।’ एयर इमिरेट्स, इत्तिहाद एयर, एयर अरेबिया र फ्लाई दुबईले दोहा उडान रद्द गरेका छन् ।

 

अब कतार उड्ने र नेपाल फर्कने उडान

काठमाडौं–दोहा : कतार एयरलाइन्स
काठमाडौं–दोहा : नेपाल एयरलाइन्स
काठमाडौं–दोहा : हिमालय एयरलाइन्स
काठमाडौं–ढाका–दोहा : विमान बंगलादेश
काठमाडौं–मस्को–दोहा : ओमन एयर

प्रकाशित मिति: २४ जेष्ठ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्