‘जनसत्ता’ ब्युँताउँदै माओबादी केन्द्र, लगत संकलन सुरु


 


कठमाडौं, जेठ २५
स्थानीय तहमा चुनिएका माओवादी नेताले रुकुममा ‘जनसत्ता’ का जग्गा पास (लिखत) लाई वैधानिक बनाउन कसरत सुरु गरेका छन्।

कानुनले तत्कालीन ‘जनसत्ता’ को लिखतलाई मान्यता नदिने भने पनि स्थानीय तहमा निर्वाचित माओवादी जनप्रतिनिधिले लिखत पासलाई मान्यता दिलाउन लगत संकलन सुरु गरेका हुन्। नागरिक मा खबर छ ।

हाललाई रुकुमका बाँफीकोट र सानीभेरी गाउँपालिकाबाट यो काम सुरु गरेको भए पनि यसलाई जिल्लाव्यापी रुपमै महत्वका साथ अघि बढाइने माओवादी केन्द्रले जनाएको छ।

अहिलेको भन्दा पनि भोलि बन्ने कानुनका आधारमा लिखतलाई पास गरिँदै लैजाने जनाइएको छ । द्वन्द्वकालमा रुकुममा मात्रै तत्कालीन ‘जनसत्ता’ बाट जगाका चार हजार रजिस्ट्रेसन पास भएका थिए। यीमध्ये तीन हजार पाँच सय लिखत विवादित छन्।

विवादकै कारण झन्डै पाँच सय जग्गा भने ‘जनसत्ता’ बाटै पास भएको आधारमा जग्गाधनीले पुनः सरकारी निकायबाट पास गरिदिएको लामो समयदेखि यस्ता मुद्दा हेर्दै आएका कानुन व्यवसायी एकबहादुर पाण्डेले बताए।

प्रदेश नम्बर ६ मा पर्ने पश्चिमी रुकुमका तीन नगरपालिका र तीन गाउँपालिकामा माओवादी उम्मेदवार विजयी भएका छन्। प्रदेश नम्बर ५ मा पर्ने पूर्वी रुकुमका तीन गाउँपालिकामा असार १४ मा निर्वाचन हुनेछ। जिल्ला प्रशासनले भने गाउँपालिकाले गरेका निर्णयबारे अनभिज्ञता व्यक्त गरेको छ।

प्रकाशित मिति: २५ जेष्ठ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्